काठमाडौं । चुरोट खरिद गर्ने बहानामा धेरै पैसा बाहिर गएको भन्दै पद्म शमशेरले चुरोट नखान जनतासँग आग्रह गरेको सन्देश बाहिर आएको छ । सन् १९४७ जारी गरेको यो सूचनालाई विदेशी सञ्चारमाध्यमहरुले समेत प्राथमिकताका साथ प्रवाह गरेका थिए । उक्त सन्देशमा उनले विदेशबाट चुरोट आयात गर्दा ठूलो रकम विदेशिने उल्लेख गरेका थिए।
नेपालबासीलाई सम्बोधन गर्दै तत्कालीन श्री ३ महाराज पद्मशमशेर जंगबहादुर राणाको सन्देश शीर्षकमा सन् १९४७ सेप्टेम्बर २२ अर्थात् २००४ साल असोज ६ गते गोरखापत्रमा छापिएको थियो। सन्देश त्यतिबेला भारतीय समाचार एजेन्सी एपीआईले सम्प्रेषण गरेको थियो। त्यही एजेन्सीबाट भारतका धेरै अखबारले उक्त खबर प्रकशित गरेका थिए।
जसमा उनले भनेका छन् ः चुरोट झिकाउनका निम्ति हाम्रो मुलुकबाट प्रतिवर्ष ५०)६० लाख जति बाहिरिने गरेको छ । यसबाट पनि हाम्रो मुलुकमा एउटा ठूलो आर्थिक धक्का परेको छ । पहिले म पनि प्रतिदिन ६० वटासम्म चुरोट खान्थेँ । मैले चुरोट खान एकदम छाडिसकेको तीन वर्ष भयो । त्यसपछि मैले बराबर तमाखु मात्र खाने गरेँ । चुरोट छोडेर तमाखु मात्रै खानाले मलाई कुनै किसिमको हानि एको छैन । स्वास्थ्यलाई समेत हानि गर्ने यो चुरोट खानु एउटा बहुतै खराब अम्बल हो । यो अम्बललाई सकेसम्म एकैदिनमा छाड्नु बेस हो । नसके अलिअलि घटाउँदै लगेर छाडे हुन्छ । जसरी हुन्छ यो खराब लतलाई सबैले छाड्नु नै बेस हुन्छ ।