धनुषाको बटेश्वर गाउँपालिका-१ चित्रपुरमा भारतबाट मान्छे बोलाएर बाँदर धपाइएको छ । गाउँमा बाँदरले धेरै दुःख दिन थालेपछि वडा कार्यालयले भारतको मथुराबाट ३ जना बाँदर धपाउन जान्ने व्यक्ति बोलाएको थियो ।
उनीहरुले एक महिनाको अवधिमा बस्ती वरपरबाट ५ सय बाँदर समातेर जंगलमा छाडेको वडाध्यक्ष अशोककुमार महतोले जानकारी दिए । तीन जनाले बाँदरलाई खोरमा पारेर रातिको समयमा बस्तीदेखि टाढा चुरेको जंगलमा लगेर छाड्ने गरेका थिए ।
उनीहरुले बाँदर समात्न केरा, बदाम, चना लगायतको खानेकुरा दिने गर्थे । बाँदर लोभिएपछि खोरभित्र फलफूल राखिन्छ । भित्र पसेपछि बाँदरलाई बन्द गरिन्छ । त्यसपछि गाडीमा राखेर जंगलको सुरक्षित स्थानमा छोडिने गरिएको बाँदर समात्ने मथुराका भुला कुसेरीले बताए ।
बाँदरको आतंकबाट पीडित स्थानीय नियन्त्रणको लागि पालिकालाई दबाब दिँदै आएको थियो । त्यसपछि वडा कार्यालयले भारतको मथुराबाट अनुभवी मान्छे बोलाएर बाँदर धपाइरहेका छन् । अब करिब एक दर्जनको संख्यामा मात्र बाँदर रहेको वडाध्यक्ष महतो बताउँछन् ।
गाउँपालिकाको पाँच लाख रुपैयाँ बजेटबाट बाँदर धपाउने काम भएको र यस भेगका किसानको लागि ठूलो राहत भएको वडाध्यक्ष महतोले बताए । मंगलबार राष्ट्रिय मानव अधिकार आयोगको मधेश प्रदेश कार्यालयकी प्रमुख मञ्जु खतिवडासहितको मानव अधिकार तथा खाद्य अधिकारकर्मीको टोली चित्रपुर पुगेर जंगली जनावरको आतंकबारे बुझेका थिए ।