राणाकालमा वि.सं. १९७२ अघि यस इलाकाका निम्ति अड्डा चौतारामा रहे पनि पछि बनेपामा सारियो । वि.सं. १९८० पछि अड्डा फेरि धुलिखेलमा सार्ने काम भयो । एकतन्त्री लामो निरंकुश शासनमा आम नेपाली जनताको चेतनास्तर जस्तै यहाँका जनताका भए पनि राणाशासनसँगको असन्तुष्टि भने बढ्दै गइरहेको थियो । तैपनि यो असन्तुष्टिलाई सचेत ढ्ङ्गले बाहिर प्रकट गर्ने अवस्था भने जिएन । एकातिर राणाहरूको शासनकालमा रोजगारी र बिर्ता पाएकाहरू नै यस जिल्लाका सबै हिसाबले अग्रणी भूमिकामा थिए भने अर्कातिर राणाका सुराकी पनि जिल्लाका थिए । त्यसैले यस क्षेत्रमा राणाविरोधी अभियान सर्वप्रथम सामाजिक र शैक्षिक जागरणमार्पmत्बीजरूपमा देखापरेको पाइन्छ ।
वि.सं. १९८२ सालमा काठमाडौंमा एउटा पुस्तकालय स्थापना गरियो । लक्ष्मीप्रसाद देवकोटा, चित्तधर हृदय, जोगवीर सिंहजस्ता ८६ जना सचेत व्यक्तिहरूको पहलमा खोलिएको उक्त पुस्तकालय तत्कालीन सरकारको अनुमतिविना खोलेको अभियोगमा त्यसमा सहभागी सबैलाई सय रुपियाँका दरले जरिवाना गरिएको थियो । नेपालको इतिहासमा ‘पुस्तकालय पर्व’ का नामले चर्चित उक्त घटनामा अनैकोटका कृष्णप्रसाद खतिवडा पनि परेका थिए । खतिवडा यस जिल्लाका प्रथम स्नातक पनि थिए ।
१९९४ सालमा बनेपामा काठमाडौंको महावीर स्कुलको शाखा स्थापना भयो । गंगालालद्वारा उद्घाटित उक्त स्कुलमा गोप्यरूपमा राजनैतिक शिक्षा पनि दिइन्थ्यो । यस स्कुलमा शुक्रराज शास्त्री, गंगालाल, दशरथचन्द, चिनियाँलाल, फत्तेबहादुर आदि शिक्षक रहेका थिए । तर १९९७ सालको ‘सहिद काण्ड’ मा तीन शिक्षक शुक्रराज शास्त्री, गंगालाल र दशरथचन्द्रले सहादत प्राप्त गरे भने दुईजना शिक्षकलाई आजीवन कैद गरियो । यसकारण यो स्कुल बन्द भए पनि भूमिगतरूपमा राणाविरोधी जागरुकता पैmलाउने काम भने हुन छाडेन । काठमाडौंका राजनीतिक कार्यकर्ताहरूको समेत बैठक, प्रशिक्षण एवं आश्रयस्थल बनेपा बन्न पुग्यो ।
स्कुल खोली शैक्षिक जागरणमा लागेका बनेपाका हंसराज श्रेष्ठ ‘स्कुलमा राजनैतिक शिक्षा दिएको अभियोग’ लागेर पक्राउ परेका थिए । भारतबाट यही भेग हुँदै काठमाडौं उपत्यका प्रवेश गर्ने र उपत्यकाबाट यही जिल्ला भएर भारत जाने सबैभन्दा छोटो मार्ग भएकाले भूमिगत रूपमा राजनीतिक पार्टीका नेता तथा कार्यकर्ताको आवतजावत भइरहन्थ्यो । यो काममा बनेपाका हंसराज श्रेष्ठ, राजदास वादे, कृष्ण प्रधानजस्ता धेरैव्यक्तिले सहयोग पु¥याएका थिए ।