सम्पदाले भरिएको भक्तपुरमा नयाँ एक सम्पदा थपिएको छ । भक्तपुर वडा नं ९, तौलाछें टोलमा नयाँ टेराकोटा घरको निर्माण भएको छ । यस घर तौलाछें गणेशको द्य:छे र बिश्वकर्मा भैल प्याखंको आगंछें हो । उक्त घर ढलान गरि बनाएपनि बाहिरी स्वरुप भने सबै ईटाले बनाएको छ । इँटाबाटै आँखी झ्याल, तोरण, आदि बनाएको छ ।
विभिन्न प्रकारका आँखी झ्यालहरूमध्ये किसि झ्य पनि एक हो । झट्ट हेर्दा सामान्य आँखी झ्याल जस्तो देखिने यो झ्याललाई गहरिएर हेर्दा २८ वटा हात्तीको टाउको मिलेर बनेको छ । यसका साथै थप आठवटा हात्तीहरु पनि कुदिएको छ । एकदमै कलात्मक यस झ्यालको टोरण पनि इँटाले नै बनेको हो जसमा श्री गणेश, ऋद्धिसिद्धी, छेफ, कुन्स्रु पनि कुदिएको छ ।
भगवान् गणेशमा समर्पित यस झ्याल कलाकार अशोक प्रजापतिले निर्माण गरेको हो । यस्तो झ्याल अन्त कतै नभएको र यसै स्थानमा मात्र रहेको जानकारी यस आगंछेंका व्यवस्थापक श्री विष्णुप्रसाद प्रजापतिले दिए। यो झ्याल पनि मयुर झ्यालजस्तै महत्व बोकेको झ्याल हो । यसको प्रवर्द्धन गर्नु हामी सबैको जिम्मेवारी हो ।