बडामहाराज पृथ्वीनारायण शाहालाई सम्झिरहँदा, कान्तिपुरका अन्तिम मल्ल राजा नेपालेस्वर जय प्रकाश मल्ललाई पनि नसम्झी बस्न सक्किन्नँ । एकीकरणको समयमा कान्तिपुर गोरखा राज्यभन्दा धेरै सम्पन्न थियो।
राजा जय प्रकाश मल्ल पनि सुरवीर पराक्रमी राजा थिए । तर उनलाई न परिवारको साथ थियो, न प्रधान र भाइ भारदारको । भने अर्कोंतिर बडामहाराजलाई भाइ भारदार र सबै जातिको जनताको साथ थियो । राजा जय प्रकाश मल्लको नेपाल सम्बत ८७३अर्थात् विक्रम सम्बत १८०९ को राजकुमार ज्योति प्रकाश मल्ल साक्षी बसेको ताम्रपत्र छ ।
जति सम्पन्न भए पनि, जति पराक्रमी भए पनि जसलाई परिवारको साथ छैन, भाइ भारदार को साथ छैन, जनताको साथ छैन त्यो अभागी नै हो । त्यस्तो विषम परिस्थितिमा, राजा जय प्रकाशले धैर्यशाली, राणाकालामा माहिर पराक्रमी बडामहाराजसँगै २५ वर्ष कान्तिपुर जोगाउनु सानो कुरो थिएन ।
कान्तिपुर आक्रमणका लागि पृथ्वीनारायण आफैँ सरिक थिए । उनले पहिले कान्तिपुरको उत्तरतिरको थँबहिल (अहिले ठमेल) लाई गोरखाली आडका लागि रोजेर त्यहाँ आफ्नो सैनिकहरू पठाई अधिकार जमाइहाले । त्यस ठाउँबाट कान्तिपुरको राजदरबारमा अधिकार जमाउन कठिन हुने देखेर त्यहाँबाट आफ्नो सैनिक फिर्ता गराई पश्चिम भागतिर दुई ठाना बार्न आफ्ना सैनिक खटाए। यता कान्तिपुरका राजा जयप्रकाश मल्ल भने त्यस रात इन्द्रजात्राको रमझममा थिए। गोरखालीहरूले तीनतिरको ढोका खोलेर कान्तिपुरमा आक्रमण गरे । तीमध्ये नरदेवी टोलबाट कान्तिपुर आक्रमणमा पृथ्वीनारायण स्वयम् सरिक थिए ।