पहिलो शीतयुद्धको चरम विन्दुको अवधिमा दक्षिण एसियाको भूराजनीतिको चरित्रलाई परन्तुसम्म प्रभावित गरिरहने तीन महत्वपूर्ण घटना भएका थिए। पहिलो, विश्व इतिहासको प्रस्थान विन्दुको रूपमा अमेरिकी राष्ट्रपति रिचार्ड निक्सनको चीन भ्रमण । दोस्रो, पाकिस्तानको विभाजन तथा स्वतन्त्र बंगलादेशको जन्म र तेस्रो सिक्किमको भारतमा भएको विलय। बंगलादेशको जन्म र सिक्किमको विलयपछि भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले दक्षिण एसियाको लागि नयाँ रणनीतिक इतिहास मात्र होइन, भारतको दीर्घकालीन सामरिक हितअनुरूप क्षेत्रमा नयाँ रणनीतिक भूगोलसमेत रचना गरिन् । उपरोक्त दुवै घटना भारतको चीन र अमेरिकामाथिको ऐतिहासिक रणनीतिक विजयको शक्तिशाली परिचय थियो।
सिक्किमको भारतमा भएको विलयपछि अप्रिल १६, १९७४ मा अमेरिकी विदेश मन्त्रालयमा विदेशमन्त्री डा. हेनरी किसिन्जर र विदेश मन्त्रालयका अधिकारीहरूबीचको बैठकमा विश्वका अन्य महत्वपूर्ण क्षेत्रीय विषयहरूबारे विचार-विमर्शपछि विदेश मन्त्रालयका एक अधिकारी एथर्टनले आफ्नो रिपोर्टिङको क्रममा किसिन्जरलाई बताए, ‘अर्को घटना भनेको जनमत संग्रह गराएर स्वतन्त्र सिक्किमको भारतमा भएको विलय हो । सिक्किमलाई भारतमा विलय गर्नुपर्ने खण्ड किन आइपर्यो ? ‘किसिन्जरले सोधे । ‘हिमालय क्षेत्रको आफ्नो सीमा सुरक्षाबारेको भारतको अत्यधिक चिन्ता र चासो’ एथर्टनले उत्तर दिए ।
किसिन्जरले फेरि सोधे, ‘त्यसो भए भारतले नेपाललाई किन छोड्यो ? सिक्किम पछि के अब नेपालको पालो हो? ”त्यो अलि कठिन छ, किनकि नेपाल संयुक्त राष्ट्रसंघको क्रियाशील सदस्य हो । ‘भारत स्वतन्त्र हुनुअघि नै स्वतन्त्र र सार्वभौम राष्ट्रको रूपमा अमेरिकासँग दौत्य सम्बन्ध रहेको र अमेरिका स्वतन्त्र हुनुअघि नै एकीकरण भई आधुनिक स्वरूपमा आइसकेको संसारकै पुरानामध्येको एक र बहादुरीका लागि विख्यात तथा राष्ट्र संघ र असंलग्न अभियानमा सशक्त भूमिका निर्वाह गरिरहेको मुलुकको राष्ट्रियताको पक्षको आन्तरिक ऊर्जा र क्षमताबारे अमेरिकी सरकार अनभिज्ञ थिएन तर भारतबाट नेपालको सुरक्षामाथि संकट छ र ढिलोचाँडो त्यो कुनै न कुनै रूपमा प्रकट हुन्छ भन्नेमा किसिन्जर विश्वस्त थिए भन्ने कुरा माथिको कुराकानीले बताउँछ ।
समसामयिक विश्वमा अन्तर्राष्ट्रिय राजनीतिका महापण्डितको परिचय बनाएका किसिन्जरले जे पूर्वानुमान गरेका थिए, त्यो इन्दिरा गान्धी र रअका प्रमुख रामेश्वरनाथ काओको नेपालको तराई टुक्र्याएर भारतमा गाभ्ने रणनीतिको खुलासा भइसकेको सन्दर्भले सावित नै गरिहाल्यो । यसबारे श्री ३ मोहनशमशेरसमेत गम्भीर थिए। त्यसैले नेपालका लागि भारतीय राजदूतहरू सुरजित सिंह मजेठिया र चन्द्रेश्वरप्रसाद नारायण सिंहका गतिविधिलाई उनले कडा नियन्त्रण र निगरानीमा राखेका थिए। कहाँसम्म भने भारतीय विदेश मन्त्रालयको ताकेता हुँदाहुँदै पनि राजदूत सिंह मोहन शमशेरलाई भारत भ्रमणबारे परामर्श दिनेसम्म साहस गर्न सकिरहेका थिएनन् भनेर सरदार भीमबहादुर पाँडेले त्यसबखतको नेपालमा उल्लेख गरेका छन् । नेपालका लागि भारतीय राजदूत सरदार मजेठियाको खलकसँग श्री ३ मोहन शमशेरको खलकमा कुनै चेलीको विवाह भएको भएकोले उनीहरूको पारिवारिक सम्बन्ध पनि थियो ।
विडम्बना नै भन्नुपर्छ, संसारको सबैभन्दा शक्तिशाली, ठूलो र पुरानो प्रजातन्त्रको अभ्यास गर्ने मुलुकहरूले नेपाल राष्ट्र र नेपालको प्रजातन्त्रलाई आजको स्थितिमा पुर्याएका छन् । त्यसैले आमनेपाली जनताको ठूलो पंक्तिमाझ भारत र पश्चिमा मुलुकहरू अलोकप्रिय छन् र उनीहरूको भूमिकाले नेपालमा चीनको प्रभाव र वर्चस्व बढाउँदै गइरहेको छ । अन्ततः स्वयम् श्री ३ मोहनका छोरा मेजर जनरल विजय शमशेरको जवाहरलाल नेहरूसँगको सहमतिपछि मोहन शमशेर भारत भ्रमणमा गए । सो भ्रमणको अवधिमा १८ फेब्रुवरी १९५० मा उनले भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूसँग गम्भीर वार्ता भयो ।
स्वाभाविकरूपमा चीनमा स्थापना भएको साम्यवादी सत्ता र तिब्बतमाथिको चिनियाँ आधिपत्यबारे नेपाल र भारतका सरकार प्रमुख स्तरमा वार्ता भए। सोही क्रममा उपप्रधान तथा गृहमन्त्री सरदार बल्लभभाइ पटेलसँगको कुराकानीका क्रममा अकस्मात नेपाललाई उत्तरतिरबाट भन्दा दक्षिणबाट ‘अधिक भय’ छ भनेर मोहन शमशेरले भनेको बारे इतिहासकार ढुण्डीराज भण्डारीले आफ्नो पुस्तकमा उल्लेख गरेका छन्।