प्राचीन काठमाडौं उपत्यकाका मुख्य तीन राज्यहरू मध्य एक ख्वप अर्थात भक्तपुर वर्तमान समयसम्म पनि आफ्नो मौलिक वास्तुकला र रितिरिवाज जीवित राखिरहेको एक अनुपम सांस्कृतिक नगरको रूपमा प्रख्यात रहेको छ। भक्तपुर भ्रमण गर्ने जो कोहीलाई पनि भुतकालमा यात्रा गरेर ऐतिहासिक जीवनको अनुभव गरेको भान हुने प्राय अभिव्यक्त भएको सुन्न सकिन्छ। मुख्यतः भक्तपुरमा चर्चित सांस्कृतिक तथा पर्यटकीय स्थानहरू मल्लकालिन दरबारहरू साथै हिन्दु मठमन्दिरहरू रहेका छन् ।
ख्वप लायकु ( दरबार स्वायर), ङातापोल मन्दिर तथा भैरवनाथ रहेको टौमढी क्षेत्र, दत्तात्रय क्षेत्र तथा पोटरी स्वायर देशी तथा विदेशी पर्यटकको लागि मुख्य गन्तव्य हुन्। तर भक्तपुर अथाह सम्पदा र संस्कृतिको भण्डार हो भन्ने बुझ्न केही वर्ष लगातार भक्तपुरको कोर नगरमा बसेपछी बल्ल अनुभव हुन थाल्दछ। यसरी मुलधारमा ख्याती नकमाएको तर सांस्कृतिक तथा वास्तुकलाको हिसाबबाट पनि महत्चपुर्ण स्थानहरू यहाँ रहेका विभिन्न बौद्ध सम्पदाहरू हुन्। अर्को रोजक कुरा भनेको काठमाडौं उपत्यकामा पाटन र कान्तिपुरका बौद्ध बहालहरू ठूला र प्रख्यात रहे पनि भक्तपुरको बहा बहीहरू भने त्यो अनुरूप नाम चलेको देखिदैन। यद्यपी यसको धार्मिक तथा सांस्कृतिक महत्वलाई कम मान्न मिल्दैन।
भक्तपुर नगरपालिकाले हरेक वर्ष वृहत सांस्कृतिक पदयात्रा आयोजना गर्ने क्रममा यस वर्ष २०८० सालको पौष १४ गते “बहा बही चिनौं, सम्पदा संरक्षण गरौं” भक्तपुरमा रहेका बौद्ध सम्पदा तथा सांस्कृतिक केन्द्र विभिन्न बहा तथा बहीहरूको सम्पदा पदयात्रा आयोजना गर्दैछ। यसै सन्दर्भमा तिब्बती बौद्धमार्गीहरूको लागि महत्वपुर्ण तिर्थस्थलको रूपमा रहेको भक्तपुरका बौद्ध सम्पदाहरूको थोरे चर्चा गर्ने प्रयास गरिएको छ।
भक्तपुरका बौद्ध सम्पदा यहाँका स्थानिय बज्रयानी बौद्धमार्गीको सांस्कृतिक तथा धार्मिक केन्द्र मात्र नभइ तिब्बती बौद्ध तीर्थयात्रीहरूको लागि पनि धेरै महत्वपुर्ण तीर्थको रूपमा रहेको देखिन्छ। तिब्बतीहरूको लागि भक्तपुर खु-खोम भनेर पनि परिचित रहेको छ। तीब्बती बौद्ध मार्गीहरूको लागी मुख्यतः भक्तपुर नगर भित्र रहेका पवित्र धार्मिक स्थलहरू तल उल्लेख गरिएको छः
१) दिपंकर बुद्ध
दिपंकर बुद्धलाई भक्तपुरको बज्रयाणी बौद्धमार्गीहरूले मुख्य संरक्षक अथवा उपसनाको केन्द्रको रूपमा बुझ्न सकिन्छ। दिपंकर बुद्धलाई शाक्यमुनी बुद्ध भन्दा अगाडीको बुद्धको रुपमा पुज्ने गरिन्छ। पाटनमा पद्मपानी लोकेश्वर अथवा रातो मच्छेन्द्रनाथलाई जति श्रद्धाले पुजिन्छ भक्तपुरमा दिपंकर बुद्धलाई उतिनै श्रद्धाको साथ उपसना गरिन्छ। दिपंकर बुद्धद्वारा नै दान चर्यालाई व्यापक फैलाएको श्रय दिइन्छ जस अनुसार नै भक्तपुरमा हरेक वर्ष हिन्दु र बौद्ध मार्गीहरू सबैको उल्लासमय सहभागितामा सम्यक महादान अथवा पञ्चदान भव्यताका साथ मनाइन्छ। भक्तपुरमा पाचँ दिपंकर बुद्धहरू अवस्थित छन् – प्रशन्नशील महाविहार अथवा आदीबुद्ध विहार ( क्वाठन्डौ), मंगलद्वीप महाबिहार अथवा झौरबही ( गोलमढी), चतुरवर्ण महाविहार अथवा तदुछें बहा (साकोठा), जयकृति महाविहार अथवा थथुबही र शुक्रवर्ण महाविहार अथवा कुथु बहि। यी सबै दिपंकर मध्य प्रशन्नशील महाविहारमा रहेको दिपंकर बुद्धलाई मुल दिपंकरको रूपमा धेरै तिब्बती बौद्ध मार्गीहरू तीर्थ आउने गर्दछ भने कतिले यसलाई बोल्ने ताराको रूपमा पनि पुज्ने गर्छ।
२) बोल्ने तारा
विभिन्न तिब्बती किंवदन्तीहरूको अनुसार भक्तपुरको तलेजु भवानीलाई नै बोल्ने ताराको रूपमा व्याख्या गरिएको पाइन्छ। भने कतिले तलेजु मन्दिर भित्र रहेको छुट्टै आगम छें मा बोल्ने तारा स्थापना भएको हुन सक्ने आकंलन गरेको पाइन्छ। तर वर्तमान समयमा प्राय तीब्बतीहरूले प्रशान्नशील महाविहारमा रहेको दिपंकर बुद्धलाई नै ताराको रूपमा पुज्ने गरेको पाइन्छ। केही शोधकर्ताहरूले हाल भक्तपुर दरबारभित्र रहेको तलेजु मन्दिर सर्वसाधारणको लागि खुल्ला नहरेको अवस्थामा तीर्थयात्रीहरुका पथप्रदर्शकहरूले प्रशन्नशील महाविहारमा रहेको दिपंकरको प्रतिमालाई नै ताराको रूपमा व्याख्या गरेको हुन सक्ने तर्फ औलाएका छन्। तर जे भएपनि तारा तिब्बती बौद्धमार्गीहरू माझ लागी हिन्दु देवी दुर्गा अथवा भगवती जत्तिकै महत्वपुर्ण देवीको रूपमा उपसना हुने गर्दछ। तिब्बती किंवदन्तीहरूमा भक्तपुरमा रहेको बोल्ने ताराले त्यो समयमा राजा संग कुरा गर्ने ( यही कुरा भक्तपुरको तलेजु भवानीको किंवदन्ती संग पनि मेल खान्छ) र राजालाई तिब्बती धर्मगुरू मिलरेपालाई भक्तपुरमा निमन्त्रणा गर्न भनेको कथन छ जस अनुरूप नै मिलरेपा भक्तपुर आइ कुथूबहीमा बसेको किंवदन्ती रहेको छ।
३) लश्क द्यः ( लोकेश्वर)
भक्तपुरको खौमा टोलमा अवस्थित स्थानिय भाषामा लश्क द्य भनेर चिनिने अन्नपुर्ण लोकेश्वरलाई भक्तपुरको मच्छिन्द्रनाथको रूपमा पनि उपासना गरिन्छ। लश्क द्यलाई पाटनमा रहेको पद्मपानी लोकेश्वरको भाइको रूपमा पनि लिने गरिन्छ। यो स्थान पनि तिब्बती बौद्धमार्गीहरूको लागि एक मुख्य आस्थाको केन्द्रको रूपमा रहेको छ। लोकेश्वरलाई तिब्बती बौद्धमार्गीहरूले अवलोकितेश्वरको रूपमा पुज्ने गर्दछ। अवलोकितेश्वरले स्वर्गबाट धर्तीबासीहरूलाई निक्कै करूणाले हेर्ने र भलो गर्ने जन आस्था रहेको छ जस अनुसार मच्छिन्द्रनाथलाई करूणामय भनेर पनि भन्ने गरिन्छ। पाटनमा हरेक वर्ष मनाइने रातो मच्छिन्द्रनाथको जात्रा समयमा सम्पन्न गर्न नसकेको खण्डमा भक्तपुरमा ल्याउने लोक कथन रहेको र त्यसरी भक्तपुरमा रातो मच्छिन्द्रनाथ ल्याउँदा यही राखिने छ भनेर भन्ने गरिन्छ।
५) शाक्यमुनी बुद्ध
मंगलद्वीप महाविहारमा रहेको शाक्यमुनी बुद्धको उपसनाको लागी पनि तिब्बती बोद्धमार्गीहरू भक्तपुर आउने गर्दछ।
४) ल्हासापाके शसुद्य ( महामन्जुश्री ) – मिलारेपा गुफा
भक्तपुर नगर बाहिर साविक सुडाल गाविसमा अवस्थित ल्हासापाके शसुद्य अथवा महामन्जुश्री मन्दिरलाई हिन्दु मार्गीहरूले सरस्वतीको रूपमा पुज्ने गर्दछ। चीनको उताइ स्हानबाट महा मन्जुश्री बज्रयाण मन्जुदेवको रुपमा यहाँ आगमन भएको र यही बसेर त्यो प्राचिन समयमा दहको रूपमा रहेको काठमाडौं उपत्यकाको पानी बाहिर निकाल्ने योजना बनाइ चोबारमा गएर गल्छी काटेको किंवदन्ती रहेको छ। हरेक वर्ष सरस्वती पुजा अगाडी आइतबार र बिहिबार यस स्थानमा दर्शनार्थीको बाक्लो भीड लाग्ने गर्दछ। यहि स्थानमा आइ तिब्बती बौद्धमार्गीहरूले गुरू मिलरेपा आएर ध्यान गरेको र मन्जुश्रीलाई हरित ताराको रूपमा उपसाना गर्ने गर्दछ। तिब्बतीहरूले तारालाई बाटो देखाउने देवताको रूपमा पनि पुज्ने गर्दछ जस अनुरूप तिब्बतबाट त्यो बेला ज्योतीको रूपमा रहेको स्वयम्भुको दर्शन गर्ने बाटो देखाउने गुरूको रूपमा मन्जुश्रीलाई नै हरित ताराको रूपमा पुजेको बुझ्न सकिन्छ। हाल यस स्थानमा मिलरेपा गुफाको तल तिर थ्राङगु रिन्पोछेले एक गुम्बा स्थापना गरेको छ।
५) चाँगुनारायण
नेपालको प्राचिन इतिहासमा लिखितम् रूपमा सबैभन्दा पुरानो मन्दिरको रूपमा चिनिने चांगुनारायण हिन्दुहरूको लागि मात्र नभइ बौद्धहरूको पनि आस्थाको केन्द्र रहेको छ। स्व- उत्पन्न भएको मानिने गरूड आसनमा विराजमान विष्णु भगवानलाई नै तिब्बती बौद्धमार्गीहरूले खिउङ राङजुङ गी नोर्वु अर्थात “स्वउत्पन्न गरूड रत्न” को रुपमा उपासना गर्ने गर्दछ। यहाँबाट तीर्थयात्रीहरू सांखु हुदें बज्रयोगीनी दर्शन गर्न जाने गर्दछ।