काठमाडौं खबर पुस १०, २०८०
किरात राईहरुको साकेला ,साकेन्वा उभौली उधौली र सिली: किरात राईहरूको आस्थाको धरोहर साकेन्वा सिली मुख्य हो। संसारका हरेक जातिहरू कुनै न कुनै संस्कार, संस्कृति, विश्वास र आस्थामा आबद्ध रहेका हुन्छन् । यो उनीहरूको ऐतिहासिक सम्बन्धको मुख्य अंश चिनारी पनि हो। मानवको सृष्टिसँगै उनीहरूले लामो समयदेखि गरेका अनुभव व्यवहार र प्रचलनले धर्म, संस्कृति र परम्पराको स्वरुप निर्धारण गर्न पुगेपछि यसैलाई आजसम्म किरातिजगतले निरन्तरता दिई आएका छन्।
यो परम्परा र संस्कृति भित्र ठूलो इतिहास लुकेको हुन्छ। यसको क्रमबद्ध अध्ययन र खोज गर्ने जिम्मेवारी हामी सबैको काधमा आएको छ। किरात राईहरूले वार्षिक रुपमा दुईपटक बैशाखे र मंसिरे धान्यपूर्णेदेखि मनाउने साकेला ,साकेन्वा उभौली र उधौली चाड किरातहरूको लागि शुभकामना आदान प्रदान मनोरञ्जन गर्ने खुसीको चाड पनि हो। त्यसैले यसैलाई मूख्य विषयवस्तु बनाएर यहाँ साकेला ,साकेन्वा पूजा र यसका सिलीहरूको प्रकार भनेर प्रष्टयाउने प्रयास गरिएको छ। यो चाड किरात राईहरूले मात्र होइन किरात समुदायमा पर्ने लिम्बु, याक्खा र सुनुवारहरूले पनि चासोक, स्याँदर तथा फोलस्याँदर आदिको रुपमा मनाउने गरेको पाइन्छ। त्यसैले यसलाई सम्पूर्ण किरातहरूको साझा चाडको रुपमा शुभकामना आदानप्रदान गर्ने, नरनाता छोरीचेली भेट्ने, मनोरञ्जन गर्ने, एक अर्का वीच शुभकामना आदान प्रदान गर्ने सुनौलो अवसरको रुपमा पनि लिइन्छ।
साकेन्वाको अर्थः
साकेन्वा भन्नाले सीमित अर्थमा भूमि वा आराध्यदेव मानिएको शिला वा ढुंगाको पूजा हो। यो शिलालाई श्रृष्टिकर्ता, जीवनदाता र संरक्षकको प्रतीक मानी पूजा गर्नु नै साकेला /चारी/ साकेन्वा हो। बृहत अर्थमा उनै आराध्य भूमिदेव तथा धरतीकी प्रतीक सुम्निमा र आकाशको प्रतीक पारुहाङ, भूमिदेवलाई अन्न प्रदान गर्ने माताको रूपमा पूजागर्न आरम्भ गर्ने रैछाकुले,हेच्छाकुप्पा र नागिलुङमा (सिक्रिमा) तथा कपडा बुनाईको सीप आविष्कार गर्ने तायामा खियामा जस्ता आदिम पुर्खाहरूले प्रतिपादन गरेको किरात संस्कार संस्कृति जसमा ढोल, झ्याम्टा, सिलिमी पोमी (चौरीको पुच्छर) जस्ता सांगीतिक बाजाहरूको साथमा रिसिया गाउँदै सिली नाचिने नाचगानको स्वरुपलाई साकेला/ साकेन्वा नामले पुकारिन्छ । विविध किराँतहरूको भाषामा: साकेला,साकेन्वा, साकेवा तोषी, ष्याँदर, साकेल, साखेल, साकेल, तोष, साक्खेवा, साखेल, खाउमो, चासोक, जस्ता अनगिन्ती शब्दहरू हुँदाहुँदै हिन्दुहरूको प्रभावमा परेर साकेन्वालाई हिन्दुकरण गरी दुर्गादेवी चण्डी र त्यसैसंग सम्बन्ध राख्ने तीथिमिति समेतलाई जोडेर चण्डीपूर्णे वा चण्डी भन्ने गरेको पनि पाइन्छ। चण्डीभित्रको कथावस्तु तथा महत्व किरातको पारुहाङ, नायम, सुम्निमा, तायामा, खियामा,रैछाकुले, खोक्चिलिपा, नालुङमा तथा सिक्रिमाहरूसंग कुनै मेल खाँदैन त्यसैले चण्डीपूर्णे भन्नु असान्दर्भिक हुने भएकाले किरात राई यायोक्खाले किरात राई भाषामा नै साकेला / साकेन्वा वा अन्य किरात भाषी नामबाट संबोधन गरिनु पर्दछ भन्ने आव्हान गरेको छ।
साकेला /साकेन्वा उत्पत्ति:
किरातहरू प्रारम्भमा काठमाडौंदेखि पूर्व पल्लो किरातसम्म छरिएर बसेको हुनाले प्राय: गाउँ नै पिच्छे आ-आफ्नो परम्परा वंश र स्थानसंग जोडेर भूमेदेव वा साकेला / साकेन्वाको उत्पत्ति भएको बताउँने गरेको पाइन्छ। यस्ता अनेकौ मिथकहरूको संकलन गर्ने हो भने एउटा सर्निम इतिहासको ठेली नै बन्न सक्तछ। तिनीहरूमध्ये निम्न केही मिथकहरूको चर्चा यसमा गरिएको छ। काठमाडौंमा रहेको किरातेश्वर महादेवलाई किरातीहरूले हेर्न नहुने भएकाले कुनै एकजना किरातीले त्यहाँको सानोढुंगा मागेर लैजाँदा अरुणको छेउसम्म पुग्दा बिशाल भयो तर ढुंगा थियो। ति किरातीले जहाँ जहाँ बिसाएका थिए त्यहाँ त्यहाँ साकेन्वाको उत्पत्ति भयो। यसरी ढुंगा लगिएपछि काठमाडौंमा प्रलय भएकाले ढुंगा उतै फर्काइयो। यस मिथकले साकेला / साकेन्वाको उत्पत्ति मल्लकालिन हो भन्ने जनाउँछ। अर्को मिथकमा भोजपुर हतुवा र आम्चोकतिरका बान्तवा राई नाम्नु माङफाङ र हाङखिमले बालीखाने सुगुर मार्दा सेतो ढुंगामा परिणत भई पारुहाङ र सुम्निमाको चाल भनी बोकेर डम्बर्खुमा ल्याईपुर्याउँदा ढुंगा एकाएक भासियो ।
यसैलाई साकेन्वाको थान मानेर छोङ्खामा बजार लगाउन थालिएबाट साकेन्वाको पहिलो उत्पत्ति भएको हो भन्ने भनाई रहेको छ। कसैले दोलाखाको बुद्धहाङ राजा र उनका बहिनी सोइसोइलाको घतलाग्दो मिथकसंग साकेला / साकेन्वाको उत्पत्तिलाई जोडेका छन्। किरात पुर्खाले गुमाएको उपत्यका फिर्ता गर्ने उद्देश्यले हेन्कुमबुङ देवको स्थापना गरी पूजागर्ने कार्यमा सरिक हुँदा बहिनी सोइसोइलाले बुनेको सेवारी (पगरी) दाजु बुद्धहाङ्लाई लगाईदिन खोज्दा खोज्दै रजस्वला भएकीले काँधसम्म पुर्याएर छोडिन र उनी त्यहाँबाट नफर्किने गरी हिडिन। उपस्थित जन सबैले दोलोकुम्मा दो सोइसोइला (सेवारी कुम्मा छ लगाईदेउ सोइसोइला) भनेर गीतको भाकामा बोलाउँदा पनि सोइसोइला आइनन्। आखिर कुमको सेवारी भूइमा खसेपछि तुरुन्त ढुंगामा परिणत भयो र त्यसैलाई पूजागर्ने परम्पराबाट साकेला / साकेन्वा उत्पत्ति भएको हो भन्ने किम्मदन्ती छ । यस मिथकले मल्लकालिन अवस्थामा दोलाखामा साकेन्वा उत्पत्ति भएको जनाउँछ।
तायामा खियामा हेच्छाकुप्पा, नालुङमा तुवाचुङडाँडा सेरोफेरो प्रारम्भिक उत्पत्ति स्थल माथि प्रस्तुत भएका मिथकहरू भन्दा भरपर्दो मिथक तायामा खियामा हेच्छाकुप्पा र नालुङमा वा सिक्रिमा जस्ता आदिम पात्रहरूसंग सम्बन्ध राख्ने तायामा खियामा रैछाकुले,हेच्छाकुप्पा र नागिलुङमा भूमि मुख्यत खोटाङको हलेसी, गाबिसको काभ्रैमा रहेको तुवाचुङडाँडा र सल्लेको चिचिङ्धा गाउँलाई साकेन्वा सिलीको उद्गमस्थल मान्ने गरेको पाइन्छ। यो तुवाचुङडाँडालाई तुवातुङ, तायाचुङ, तयामा , तायामा वा तोयामा, खियामा, तमा वा तोमा, खेमा, जायाजुम, मलथुम्का, ग्रमुलजु, दिदीवहिनीडाँडा जस्ता विविध नामहरूले पुकारिन्छ जहाँबाट साकेन्वा सिली मात्र होइन कपास र अल्लोको कपडाबुन्ने शीपको अन्य किरात राईहरूको बस्तीमा विस्तार भएको तथ्यलाई पुष्टि गर्ने सप्रमाणिक भौतिक यथार्थ तयामा,तोमाखेमा डाँडामा रहेको छ। यो यथार्थ तायामा खियामा रैछकुले,हेच्छाकुप्पा र नागिलुङमाको जीवनगाथा बुझेको ब्यक्ति जसले यो भूमि एकपटक स्पर्श गरेको छ उसलाई मात्र सत्यता हो भन्ने लाग्छ। सम्पूर्ण किरात राईहरूमा मिथकको भाव उद्देश्य र पात्रहरू समान खालको रहेको र यस प्रकारको भूमिको वर्णन अन्य कुनै मिथकले पनि आजसम्म पेश नगरेको हुनाले यही तयामा, खियामा , रैछाकुले ,हेच्छाकुप्पाको भूमिलाई किरात धर्म, संस्कृति र सम्भताको केन्द्रबिन्दु मान्न सकिन्छ।