काठमाडौं- नेपालको प्रमुख निकासीजन्य वस्तु हस्तकलाको आन्तरिक खपत पनि उत्तिकै बढ्न थालेको छ । हस्तकला व्यवसायीहरुका अनुसार सामाजिक संस्कार अनुसार जन्मदेखि मृत्युसम्म हस्तकलाजन्य सामग्रीकै प्रयोग हुने र पछिल्लो समय व्यापार व्यवसायमा पनि नेपाली कला-संस्कृति झल्काउने सजावट गर्ने संस्कृतिको विकास हुँदा यो क्षेत्र फस्टाउने क्रममा छ ।
नेपाल हस्तकला महासंघको तथ्यांकअनुसार यो क्षेत्रको वार्षिक कारोबार २५ अर्ब रुपैयाँभन्दा बढी पुगिसकेको छ । महासंघका अनुसार गत आर्थिक वर्ष २०७९-८० मा झन्डै १२ अर्ब रुपैयाँँका हस्तकला निर्यात भएकोमा सोही हाराहारीमा आन्तरिक बजारमा खपत भएको अवस्था छ । आन्तरिक बजारमा खपत तथा विदेशी पर्यटकले नेपाल आउँदा खरिद गर्ने हस्तकलाजन्य सामग्री समेतको एकीकृत तथ्यांक राख्ने हो भने वार्षिक २५ अर्बभन्दा बढी रहेको महासंघ अध्यक्ष प्रचण्ड शाक्य बताउँछन् ।
उनका अनुसार मुलुकमा प्रतिदिन व्यापार घाटाले बढ्दो चुनौती थपिरहेका बेला हस्तकला क्षेत्रले निर्यात व्यापारबाट विदेशी मुद्रा आर्जनसँगै आयात प्रतिस्थापनमा समेत महत्वपूणर् भूमिका खेल्दै आएको छ । हस्तकला महासंघका अनुसार गत आर्थिक वर्षमा नेपालबाट भएको निकासी व्यापारमा २१ प्रतिशत कमी आइरहँदा पनि करिब १२ अर्बको हस्तकलाका वस्तु निकासी भएको छ ।
‘निकासीकै अनुपातमा आन्तरिक व्यापार तथा अनौपचारिक अर्थात् विदेश जाने व्यक्तिहरुले उपहारमा लैजाने लगायतका बिक्रीको एकीकृत तथ्यांक राख्ने हो भने झण्डै २५ अर्ब बराबरको राष्ट्रिय अर्थतन्त्रमा हस्तकला क्षेत्रको योगदान छ,’ महासंघ अध्यक्ष शाक्य भन्छन्, ‘अनौपचारिक कारोबारले गर्दा पनि नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा यस क्षेत्रको योगदान उल्लेखनीय रुपमा नदेखिएको अवस्था छ ।’
हस्तकला क्षेत्रमा विशेष गरी स्वदेशी कच्चा पदार्थको प्रयोग नै बढी गर्ने गरेको छ र यसबाट स्वदेशी श्रम र सीप समेतको मूल्य अभिवृद्धि हुँदा निर्यात क्षेत्रमा यो विकल्प रहित वस्तुका रुपमा विकास भइरहेको छ । यस क्षेत्रले प्रत्यक्ष र अप्रत्यक्ष गरी वार्षिक ११ लाखभन्दा बढीलाई रोजगारी दिइरहेको महासंघको भनाइ छ ।
उचित कानुनी व्यवस्था तथा त्यसको कार्यान्वयन एवं पूर्वाधार विकास, प्रोत्साहन एवं निर्यात मैत्री व्यापार नीति हुने हो भने अहिलेको निकासी व्यापार र आन्तरिक रोजगारीलाई दोब्बर वृद्धि गर्न सकिने र हस्तकला उद्योग व्यवसायलाई कृषिपछि देशभर विस्तार गर्न सकिने अध्यक्ष शाक्य बताउँछन् । हस्तकला क्षेत्रको प्रवद्र्धनका निमित्त महासंघले २०४८ सालदेखि नै प्रत्येक वर्ष हस्तकला व्यापार मेला आयोजना गर्दै आएको छ ।
यो व्यापार मेला सञ्चालनका लागि नेपाल सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रबाट बर्सेनि सहयोग रहेको छ । हस्तकला व्यापार मेलाको २० औं संस्करण सम्म आइपुग्दा हस्तकलाको सामूहिक बजारीकरणका लागि पनि मेला निकै सहयोगी सावित हुँदै आएको छ । हस्तकला आफैंमा मौलिक सिर्जना मात्र नभई देशको बढ्दो व्यापारघाटा कम गर्न सहयोग पुर्याउने सक्ने क्षेत्रको रुपमा पनि यो मेलाले घनिभूत बहस सिर्जना गर्ने अपेक्षा रहेको छ ।
हस्तकला क्षेत्रले आन्तरिक रुपमा लाखौंको संख्यामा रोजगारी सिर्जना गरी रहेको तथा नेपाल आउने पर्यटकले आफ्नो मुलुक फर्किंदा नेपालको चिनोका रुपमा लैजाने मायाको चिनोको रुपमा पनि हस्तकला वस्तुले नेपाललाई विश्वसामु चिनाइरहेको छ । सार्वजनिक निजी साझेदारी अवधारणामा यो मेलासहित नेपाल गुणस्तर तथा नापतौल विभागमा हस्तकला परीक्षण प्रयोगशाला पनि सञ्चालन भइरहेको छ । अब यस क्षेत्रको दिगो विकासका लागि अझ हातेमालो गर्ने बेला आइसकेको सरोकारवालाहरु बताउँछन् ।
उद्योग विभागको परिसर त्रिपुरेश्वरमा निर्माण सम्पन्न भ सकेको सार्क हस्तकला विकास केन्द्र चाँडै सञ्चालन हुनेमा महासंघ आशावादी रहेको अध्यक्ष शाक्यको भनाइ छ । हस्तकला क्षेत्रको दीर्घकालिन विकासका लागि २ दशकभन्दा अगाडिदेखि नै व्यवसायीहरुले हस्तकला ग्राम स्थापनाको लागि नेपाल सरकार समक्ष पैरवी गर्दै आइरहेका थिए । यसको लागि ७ वटै प्रदेशमा ती प्रदेशमा रहेका स्थानीय हस्तकलाको प्रकृति अनुसारका हस्तकला ग्राम स्थापनाको लागि सरकारसँग आग्रह गरिएको महासंघको भनाइ छ ।