एकपछि अर्को गर्दै विद्यार्थीको मानसिक र शारीरिक अवस्था बिग्रँदै गएपछि सिन्धुपाल्चोकको एक विद्यालयमा पठनपाठन पूणर्रुपमा बन्द गरिएको छ। पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नम्बर ७ स्थित भोटेनाम्लाङ माविका विद्यार्थीहरु कोही कराउने, कोही बरबराउने, कसैले अस्वाभाविकरुपमा शारीरिक हाउभाउ देखाउन थालेपछि विद्यालय बन्द गरिएको बताइएको छ ।
विद्यालयले जारी गरेको सूचनामा हिजो र आज दुई दिन विद्यालय बन्द रहेको उल्लेख छ । केही दिन यतादेखि विद्यार्थीमा स्थानीय जनविश्वास अनुसार झाँक्री (देवी देवता) चढ्न थालेको बताइएको छ । विद्यार्थीहरुमा अस्वाभाविक लक्षण देखिएपछि विद्यालय बन्द गर्नु परेको प्रधानाध्यापक गोपीकृष्ण पराजुलीको भनाई छ ।
एकपछि अर्को विद्यार्थीमा अस्वाभाविक मानसिक र शारीरिक समस्या देखिन थालेपछि थप विद्यार्थीमा उक्त समस्या नदेखियोस् भनेर विद्यालय बन्द गरिएको हो । विद्यार्थीहरुको नियमित स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएर पर्सि आइतबारदेखि नियमित पठनपाठन हुने विद्यालयले जनाएको छ।