काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले रथी दर्जामा बढुवा भएका उपरथी अशोकराज सिग्देललाई आज रथी दर्जाको दज्र्यानी चिह्न प्रदान गरेका छन् । मन्त्रिपरिषद्को बिहीबारको बैठकले उनलाई उक्त पदमा बढुवा गर्ने निर्णय गरेको थियो ।
विसं २०२३ माघ १९ गते कपिलवस्तुमा जन्मिएका रथी सिग्देल २०४३ फागुन ३ गते नेपाली सेनाको अधिकृत क्याडेट दर्जामा प्रवेश गरी २०४५ जेठ १९ गते नेपाली सैनिक प्रतिष्ठानबाट सहायक सेनानी भएका थिए ।
रथीमा बढुवा भएका सिग्देल सेनामा राजनीतिबाट टाढा भएका सैनिक अधिकारी हुन् । रथीमा बढुवा भएसंगै उनको २०८१ भदौपछि २४ पछि प्रधानासेनापति बन्ने निश्चित भएको छ । सेनामा वरिष्ठ रथी नै प्रधानसेनापति बन्ने प्रचलन छ । सेनाको अर्को रथीको दरबन्दी पुष ३ मा रिक्त हुनेछ । त्यसमा वरियतामा आधारमा हाल फोर्स कमाण्डर रहेका निर्मल थापा रथीमा बढुवा हुनेछन् ।
आजै जङ्गी अड्डामा आयोजित कार्यक्रममा प्रधानसेनापतिले रथी सिग्देलका साथै उपरथीमा बढुवा भएका सहायक रथी सन्तोष वल्लभ पौडेललाई पनि दज्र्यानी चिह्न प्रदान गरे । रथी सिग्देल बलाधिकृत र उपरथी पौडेल पश्चिम पृतनापतिमा नियुक्त भएका छन् ।