काठमाडौं । विश्वमा सबैभन्दा धेरै बाघ मार्ने शासकहरुमा अग्रपंक्तिमा आउँछन्, राणा प्रधानमन्त्री जुद्ध शमशेर । यकिन संख्याको तथ्यांक नभए पनि विश्वमा सबैभन्दा बढी बाघको शिकार गर्ने दुई व्यक्तिमध्ये पहिलोमा भारतीय शासक र दोस्रोमा जुद्ध शमशेरको नाम आउने गर्छ । इतिहासमा राजा–महाराजा, राणा शासक र विदेशी पाहुनाको सिकार सोखको कोपभाजनमा धेरै बाघ परे । बाघ संरक्षण गर्नु पर्छ भन्ने चेत त्यति बेला थिएन । जसका कारण बालीबाघ, जाभाबाघ, क्यास्पियनबाघ, साउथ चाइनाबाघ जस्तै पाटेबाघ पनि लोप हुने अवस्थामै पुग्यो ।
विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार भारत सग्रुजा स्टेटका माहाराजा रामानुज प्रताप शिंहले आफ्नो जीवनकालभरमा १७१० वटा बाघको शिकार गरेको उल्लेख भेटिन्छ । तर कतिपयले उनले साढे पाँच सयवटा बाघ मारेको भन्ने चर्चा पनि सुन्ने गरिन्छ । जसमा पाटेबाघहरू समेत सामेल छन् । रामानुज प्रताप सिंह देव कोरिया जिल्ला, छत्तीसगढका महाराजा थिए। उनको जन्म सन् १९०१ ईस्वीमा भएको थियो । उनी एक बुद्धिमान र प्रसिद्ध देशभक्त थिए । पण्डित मोतीलाल नेहरू र पण्डित जवाहरलाल नेहरूको उनको जीवनमा ठूलो प्रभाव थियो। रामानुज प्रताप सिंह देवले लण्डनमा भएको ‘गोलामेज सम्मेलन’मा पनि भाग लिएका थिए।
इतिहासकार ज्ञानमणि नेपालका अनुसार जङ्गबहादुर राणा राजकाजबाट फुर्सद हुनेबित्तिकै चितवनमा बाघको सिकार गर्न पुग्थे । महिनौँ जङ्गलमा बाघसँग पौँठेजोरी खेल्थे । मारेको बाघ लहरै राखेर आफ्ना भारदारलाई ठाँटका साथ देखाउँथे । उडिरहेको चरालाई तारो हानेर खसाल्ने खुबी उनीसँग थियो । बाघ मार्ने छुट्टै कला थियो । त्यस्तै , नेपालका प्रधानमन्त्री जुद्ध शम्शेर राणा पनि धेरै बाघ मार्ने शासकको अग्रपङ्तिमा पर्छन् ।भनिन्छ जसले ५०० भन्दा बढी पाटे बाघ शिकार गरेका छन् ।
जुद्ध शमशेर कमान्डर इन्चीफ धीर शमशेरका १७ भाइ छोरामा १५ औँ थिए। उनको जन्म वि सं १९३२ वैशाखमा जुहारकुमारीको कोखबाट भएको थियो। सानैबाट साँवलो, कमजोर र आत्मबलरहित हुँदा बचाउन कठिन परेका जुद्धशमशेरको भाग्य त्यत्तिकै प्रबल थियो। वि।सं। १९४१ मा प्रधानसेनापति धीरशमशेरको मृत्यु हुँदा जुद्ध १० वर्ष पुगेका तर जियारी भने ७ वर्षको बालकको जस्तो हुनाले मर्ने बेलामा निजका आमाले गुन तिर्न आफू समर्थ नहुँदा निजका छोराको ख्याल गर्ने निर्देशन वीर शमशेरलाई दिएकाले जुद्ध रोलवाला भएका थिए। वि।सं। १९४२ मा श्री ३ रणोद्दीपसिंहको हत्या भएपछि श्री ३ पदमा वीरशमशेर आए। त्यही बेला जुद्ध जनरल भए। उनी दसौँ रोलक्रममा थिए। वीर शमशेरले जुद्ध शमशेरलाई थापाथली दरबार दिएका थिए तर कम्पाउण्ड नभएको दरबारमा नबस्ने भनेकाले वीरले उनलाई जावलाखेल दरबार दिए।