

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कारबाही गर्न लागेको विषयलाई लिएर विपक्षी दलका सांसदहरूले संसद तताएका छन् । आज बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै विपक्षी सांसदहरूले सरकारले षडयन्त्रपूर्वक हटाउन लागेको भन्दै विरोध गरेका छन् । पछि सभामुखले यसबारे जवाफ दिन सरकारलाई निर्देशन दिएका छन् ।
उनीहरूले बैठक सुरु भएलगत्तै विपक्षी दलहरूले उठेर विरोध गरेका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले विपक्षी दलहरूको तर्फबाट बोल्न नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई समय दिए । त्यसपछि बोलेका पाण्डेले कुलमानलाई सरकारले पटक–पटक स्पष्टीकरण सोध्ने र दुःख दिने मात्र नभएर कार्यसम्पादन मूल्याङ्कनमा समेत शून्य अङ्क दिएर के गर्न खोजेको हो भन्दै सदनमार्फत सरकारको जवाफ मागे । उनले सरकारलाई जवाफका लागि रुलिङ गर्न सभामुखलाई आग्रह समेत गरे ।
केही दिनअघि मन्त्री मन्त्रालयले कुलमानलाई कार्यसम्पादन मूल्यांकनमा शून्य अंक दिएका थिए । संसदमा सांसद पाण्डेले प्राधिकरणलगायत सार्वजनिक संस्था घाटामा गइरहेको बेला घिसिङले प्राधिकरणलाई नाफामा लैजाँदै विद्युत् निर्यात समेत गर्न लागि रहेका बेला हटाउन लाग्नुले सरकार विचौलियको हितको पक्षमा लागेको त होइन भन्दै प्रश्न गरेका हुन् ।
त्यस्तै रास्वपाका प्रवक्ता समेत रहेका सांसद मनिष झाले प्राधिकरणलाई फाइदामा पुर्याउने कुलमानलाई कार्यसम्पादनमा शून्य अङ्क दिएको भन्दै असन्तुष्टि जनाए । ‘कुलमान घिसिङजस्तो प्राधिकरणलाई फाइदामा पुर्याउनेहरुलाई सरकारले मूल्याङ्कन जिरोमा गर्छ र विभिन्न बहनामा आफ्नो कार्यकर्ता भर्ती गर्न पाएन भनेर उनलाई निष्कासनको बहाना र परिपन्चहरू सिर्जना गरिरहेको छ’, झाको भनाइ छ ।