

काठमाडौँ । नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युपछि तनावग्रस्त बनेको भारतको ओडिसास्थित कलिङ इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) ले मङ्गलबार पाँच जनालाई कारवाही गरेको छ । नेपालीसँगै भारतीय विद्यार्थीहरू समेत आन्दोलनमा उत्रिन थालेपछि क्याम्पसले २ सुरक्षा गार्डलाई बर्खास्त र ३ कर्मचारीलाई निलम्बन गरेको हो ।
केआईआईटीले मंगलबार विज्ञप्ति जारी गरी घटनापछि तत्काल दुई सुरक्षाकर्मी कर्मचारीलाई बर्खास्त गरिएको जानकारी दिएको छ। पहिले नेपाली विद्यार्थीलाई छात्रावास र क्याम्पसबाट समेत निकालेको प्रशासनले आन्दोलन चर्किने अवस्था आएपछि सम्बन्धित अधिकारीमाथि कारबाही प्रक्रिया अघि बढाएको हो ।
यस्तै दुई जना वरिष्ठ छात्रावास अधिकारी र एकजना अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालय (आईआरओ) का वरिष्ठ प्रशासनिक अधिकारीलाई घटनाको अनुसन्धान नटुंगिँदासम्म निलम्बन गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।