

काठमाडौं । भारतको ओडिसा राज्यमा रहेको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीकी विद्यार्थी बुटवलकी प्रकृति लम्सालको मृत्युपछि आन्दोलनरत नेपाली विद्यार्थीलाई भारतीय सत्तारूढ दल भारतीय जनता पार्टी समर्थित विद्यार्थी संगठन अखिल भारतीय विद्यार्थी परिषद्ले समर्थन जनाएको छ । नेपाली विद्यार्थीको मागमा ऐक्यबद्धता जनाउँदै परिषद्ले पनि आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।
परिषद्ले विद्यार्थीको मृत्युको छानबिनसँगै नेपाली विद्यार्थीलाई रातारात कलेजबाट निकालेर रेलवे स्टेसन पुर्याइएको घटनाको समेत विरोध गरेको छ । परिषद्ले सोमबार कलेज परिसरमा प्रशासनविरुद्ध नाराबाजी गर्दै मृतक विद्यार्थीको मृत्युको कारण पत्ता लगाउने र उनको परिवारलाई क्षतिपूर्ति दिन समेत माग गरेको छ ।
परिषद्का राष्ट्रिय कार्यकारिणी सदस्य विश्वजित पात्रले नेपाली विद्यार्थीसँग कलेजले माफी माग्नुपर्ने र उनीहरूलाई फिर्ता बोलाउनुपर्ने माग गरेका छन्। रेलवे स्टेसनमा अलपत्र नेपाली विद्यार्थीलाई खान र बस्नको व्यवस्थासमेत कलेजले नै गर्नुपर्ने परिषद्को माग छ।