काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामालाई बर्खास्त गर्न माग गर्दै काठमाडौ महानगरपालिकामा निवेदन परेको छ । मंगलबार सिनामंगलका राजेश आचार्यले महानगरका प्रमुख बालेन्द्र शाहलाई निवेदन दिएका हुन् । आचार्यले सिनामंगलका प्लानिङ्ग व्वाइज युनाईटेड नामक गैर सरकारी संस्थाको तर्फबाट निवेदन दिएका हुन् ।
क्लबको विधानमा अदालतले दोषि ठहर गरेको व्यक्ति साधारण सदस्य समेत नहुने व्यवस्था हुँदाहुँदै दावा लामाले झूटा विवरण पेश गरी संस्था दर्ता गरी सो क्लबको अध्यक्ष भएको र हालसम्म पनि सो संस्थामा आबद्ध रहेको र क्लबबाट प्रतिनिधित्व गरी एन्फा उपाध्यक्षको रुपमा कार्य गर्दै आएकाले कारबाही गर्न माग गरेका हुन् ।
लामा लागुऔषध खैरो हेरोईन तस्करी एवं कारोबारजस्तो जघन्य अपराध मुद्धामा काठमाण्डौ जिल्ला अदालतले दोषी ठहर गरेको बताइएको थियो। अदालतले २०६२साल जेठ १० गते ६ महिना कैद सजाय तोकेको छ ।
जिल्ला अदालतको निर्णयविरुद्ध निजले काँहीकतै पुनरावेदन नगरेको उल्टै तत्कालीन पुनरावेदन अदालतले उनलाई ४ वर्ष र ५ हजार जरिवाना गर्ने फैसला मिति २०६४ जेष्ठ २० गते गते गरेको थियो ।
अदालतले दोषि ठहर गरेको व्यक्ति प्रतिष्ठित जीवनयापन गर्दा युवा पुस्ता र समाजमा नकारात्मक प्रभाव पर्ने भएकोले विधानबमोजिम लामालाई यथाशीघ्र प्लानिङ्ग व्वाइज युनाईटेड क्लबको साधारण सदस्य समेत नरहने गरी बर्खास्त गर्न निवेदनमा अनुरोध गरिएको छ ।