काठमाडौं खबर माघ २१, २०८१
काठमाडौं । फुटबलर्स मिसन टुगेदरले कोशी प्रदेश समिति गठन गरेको छ । देशभर नै संगठन विस्तार गर्ने योजनाअनुरूप अन्तर्राष्ट्रिय फुटबल खेलाडी पुनम थापाको अध्यक्षतामा समिति गठन भएको हो । समितिको उपाध्यक्षमा इन्दु रसाईली, संगीता राउत र पारस चौधरी चयन भएका छन् । समितिको महासचिवमा मधुसुदन खनाल र कोषाध्यक्षमा कुमार महर्जन चयन भएका छन् । सदस्यहरु दीपेन्द्र ढकाल, गणेशराज भण्डारी, मंगेश बस्नेत, दर्शनराज लवट श्रेष्ठ र सुरेन्द्र तामाङ चयन भएका छन् ।
आज विराटनगरको सप्तकोशी पार्टी प्यालेसमा फुटबलर मिसन टुगेदरका अध्यक्ष अशोक बज्राचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा एन्फाका पूर्व केन्द्रीय सदस्य वसन्त अर्याल, कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राईले नवगठित समितिका पदाधिकारी तथा सदस्यहरूलाई बधाईसहित सफल कार्यकालका लागि शुभकामना दिएका थिए ।
प्रमुख अतिथिको रुपमा मन्तव्य राख्दै कोशी प्रदेश बोर्डका सदस्यसचिव पर्शुराम बस्नेतले नेपालको खेलकुद क्षेत्रमा भेट्रान खेलाडीहरुको योगदान विशिष्ट रहेको हुँदा उनीहरूसँग सहकार्य गर्दै विभिन्न कार्यक्रम गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा विशिष्ट अतिथि राजेन्द्र राउतले नयाँ कार्यसमितिलाई बधाई दिँदै आफूबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
मिसन टुगेदरका अध्यक्ष अशोक रत्न बज्राचार्यले नवगठित समितिका पदाधिकारी तथा सदस्यहरूलाई प्रमाणपत्र वितरण गरेको कार्यक्रममा सुनसरी जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक राई, विराट गोल्ड कप ट्रस्टका अध्यक्ष किशोर बहादुर शाही, एन्फाका पूर्वउपाध्यक्ष सन्तोष बानियाँलगायत टुगेदरका महासचिव धिरेन्द्र प्रधान, कोषाध्यक्ष वसन्त लामा, एन्फा उपाध्यक्ष तथा एफएमटीका सहकोषाध्यक्ष विराट जंग शाही र प्रमुख कार्यकारी अधिकृत मधुसूदन उपाध्यायलगायत कोशी प्रदेशका खेलकुद क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।