काठमाडौँ । आज बसन्त पञ्चमी । पौराणिक मान्यता अनुसार आजकै दिनदेखि ऋतुराज बसन्तको सुरुवात भएको छ। सौर्यमास अनुसार फागुन १ गतेदेखि बसन्त ऋतु सुरु हुने भएपनि पौराणिक मान्यता र चन्द्रमास अनुसार भने बसन्त ऋतुको सुरुवात माघ शुक्ल पञ्चमीका दिनदेखि हुने गर्दछ।
आध्यात्मिक भाषामा भन्नुपर्दा वसन्त ऋतुमा पञ्चतत्व (पृथ्वी, वायु, जल, आकाश र अग्नि) ले आफ्नो प्रकोप छाडेर सुहाउँदो रुपमा प्रकट हुन्छन्। आकाश स्वच्छ हुन्छ। वायु सुहाउँदो हुन्छ। अग्नि (सूर्य) को ताप ठिक्कको हुन्छ। जल सुखदायक हुन्छ।
प्राचीनकालमा कसैप्रति आफ्नो प्रेम र आकर्षणका बारेमा भाव व्यक्त गर्नका लागि यो ऋतु अनुकूल मानिन्थ्यो। राजमहल र राजकीय देखरेखमा नगरहरुमा रमाइलो गरिन्थ्यो। आफ्नो प्रेमभाव सम्बन्धित व्यक्तिसामु व्यक्त गरेर उत्सव मनाइन्थ्यो।
त्योबेला वसन्त ऋतुलाई स्वागत गर्न माघ महिनाका पूरै पाँच दिन एउटा ठूलो उत्सव नै मनाइने गरिन्थ्यो। यस उत्सवमा विष्णु र कामदेवको पूजा हुन्थ्यो। पुराणहरु तथा अनेक काव्यग्रन्थहरुमा अलग–अलग तरिकाले यसको चित्रण मिल्छ।कामदेवको उत्सव मनाउँदा बीचमा कामदेवको मन्दिर हुन्थ्यो। स्त्रीपुरूषहरु जम्मा भएर फूलहरु छानेर हार बनाउँथे। एक–अर्कामाथि अबीर, कुमकुम लगाउँथे र नृत्य सङ्गीत आदिको आयोजन गर्थे। पछि पनि मानिसहरु मन्दिर गएर कामदेवको पूजा गर्ने गर्थे। हिजोआज वसन्तोत्सवको रुप बदलियो र होलीका रुपमा मनाइन्छ।