काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले पराजित गर्दै जनकपुर बोल्ट्सले उपाधि चुमेको हो ।
सुदूरपश्चिमका दीपेन्द्रसिंह ऐरी सर्वोत्कृष्ट खेलाडी बनेका छन् । उनले ओमोडा ईभी कार पुरस्कार प्राप्त गरेका छन् । त्यस्तै, जनकपुरका ललित राजवंशी सर्वोत्कृष्ट बलर घोषित भएका छन् । उनले मोटरसाइकल पुरस्कार प्राप्त गरेका छन् ।
प्लेयर अफ दि टुर्नामेन्ट सुदूरपश्चिम रोएल्सका सेफ अली जैबले हात पारेका छन् । उनले पाँच लाख रुपैयाँ प्राप्त गरेका छन् । त्यस्तै, कर्णाली याक्सका बिपिन प्रसाद शर्माले इमर्जिङ प्लेयरको उपाधि हात पारेका छन् । उनले ५० हजार नगद र एक लाख बराबरको छात्रवृत्ति पाएका छन् ।
इनर्जेटिक प्लेयर अफ द टुर्नामेण्ट जनकपुरका जिमी नीशम घोषित भए । उनले २ लाख रूपैयाँ प्राप्त गरेका छन् । अत्यधिक चौका अवार्ड लाहिरु मिलान्थाले पाएका छन् भने फेयर प्ले अवार्ड लुम्बिनी लायन्स टिमले प्राप्त गरेको छ ।