काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा सर्वाधिक चर्चा बटुलेको नेपाल प्रिमियर लिग (एनपिएल) फ्रेन्चाइज क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदैछ । काठमाडौंको त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने सो खेलमा आज विराटनगर किङ्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदैछ ।
विश्व चर्चित खेलाडीको आगमनले निकै चर्चा पाएको यो खेल आगामी पुस ६ गतेसम्म सञ्चालन हुनेछ । जसमा कुल आठ टोलीको सहभागिता रहने क्यानले जनाएको छ । यसका लागि कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदान दुलहीझैँ सिङ्गारिएको छ । त्रिवि मैदानमा पहिलोपटक दर्शकका लागि ‘डिजिटल स्कोर बोर्ड’ जडान गरिएको छ । यसले खेलाडी टिम र खेलप्रेमी दर्शकलाई त्रिवि मैदानमा ठूलो स्क्रिनमा खेलको स्कोर र अपडेट हेर्न सहज हुनेछ ।
विश्वचर्चित खेलाडीसँगै एनपिएलमा लगानीकर्ता टोलीले पनि खेलाडीमा खर्च गर्न कुनै कन्जुस्याँई गरेको देखिँदैन । फ्रेन्चाइज टिम किन्नकै लागि करिब रु तीन करोड माथीसम्म खर्च गरेको छ । पोखरा एभेन्जर्सले करिब रु तीन करोड ५७ लाखमा फ्रेन्चाइज किनेको थियो । यस्तै कम खर्च गर्नेले पनि कम्तीमा रु एक करोडभन्दा माथि रकम फ्रेन्चाइज फि तिरेको छ ।
एनपिएलको अर्को आकर्षण भनेको खेलाडीले कार पाउनु पनि हो । नेपाली क्रिकेट इतिहामा खेलाडीले खेलेरै कार पाउने यो पहिलो पटक हुनेछ । क्यानका अनुसार प्रतियोगितामा उत्कृष्ट घोषित हुने एक खेलाडीले एक थान कार पुरस्कार प्राप्त गर्नेछन् ।