काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले क्लबहरूको बक्यौता नदिई सहिद स्मारक बि डिभिजन लिग गर्ने तयारी गरेको छ । बक्यौता बाँकी राखेर गरिएको यो निर्णयले लिग हुनेमा नै आशंका पैदा गरेको छ ।
बि डिभिजन लिग आयोजनासम्बन्धी छलफल गर्न बिहीबार एन्फाले मुख्यालयमा बैठक डाकेको थियो । उक्त बैठकमा १४ क्लबमध्ये प्लानिङ व्वाईजको अध्यक्ष दावा लामा, श्रीकुमारी क्लबको अध्यक्ष नकुल हमाल ठकुरी र बाँसबारी क्लबको सचिव रमेश कार्कीको उपस्थिति रहेको थियो । तीनमध्ये दुई जना हालै ताजकिस्तानमा मैत्रीपूर्ण फुटबल खेल्न गएको राष्ट्रिय टिमको व्यवस्थापक हुन् ।
क्लबको माग सम्बोधन र पर्याप्त छलफल नै नगरी एक पक्षीयरुपमा लिग गर्ने निर्णयप्रति हुकुमी शैली भनी क्लबहरुले आपत्ति जनाएका छन् । गैरप्रतिनिधि राखेर गरेको निर्णय वैधानिक हुन नसक्ने र एन्फाले मुठभेट निम्त्याएको बि डिभिजन लिगका एक प्रतिनिधिले बताए । एन्फाले तीनवर्ष बितिसक्दा पनि एक पटक मात्र ए डिभिजन लिग सम्पन्न गरेको छ, जुन विवादमुक्त छैन भने साईकल समेत पूरा गर्न सकेको छैन ।