वासिङ्टन डिसी (अमेरिका) । विश्व शक्तिराष्ट्र अमेरिकी राष्ट्रपतिका लागि भएको चुनावको अन्तिम दिन । सो निर्वाचनका लागि डेमोक्र्याटिक पार्टीका तर्फबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन पार्टीबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प मैदानमा छन् । दुई उम्मेदवारबीच भइरहेको कडा प्रतिस्पर्धालाई अन्तिम दिने हुने मतदानले प्रभाव पार्ने बताइएको छ । निर्वाचनको मिति आउन एक दिन बाँकी रहँदा ह्यारिस र ट्रम्प दुवैको संयन्त्र ब्याटल ग्राउण्ड स्टेट (मतदान गर्न अनिर्णित मतदाता भएको राज्य) को नामकरण गरिएका स्थानमा केन्द्रित रहेको थियो ।
मतदाताहरूको प्रत्यक्ष मतदान र ‘इलेक्ट्रोल कलेज’को सम्मिश्रणका आधारमा निर्वाचित गरिने अमेरिकाको राष्ट्रपतीय निर्वाचन यो पटक निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ । नागरिकले मतदानमार्फत प्रत्यक्ष कार्यकारी अधिकारसहितको विश्वको शक्तिशाली राष्ट्र अमेरिकाको राष्ट्रपतिको निर्वाचनमार्फत हुने सत्ताको परिवर्तनले विश्वलाई प्रत्यक्ष, अप्रत्यक्ष रुपमा प्रभाव पार्ने कतिपयको धारणा छ । आफ्नो पक्षका उमेदवारलाई विजयी गराउन दुवै पार्टीले आफ्ना सबै प्रकारका संयन्त्र परिचालन गरेका छन् ।
यो निर्वाचनमा नेपालीहरूको पनि सामान्य उपस्थिति रहेको देखिएको छ । कूल २३ करोड १० लाख मतदानका लागि योग्य भए पनि १६ करोड ८० लाखले मात्र मतदानका लागि दर्ता (रजिस्टर्ड) गरेका तथ्याङ्क छ । त्यसमध्ये एक लाख जना नेपाली मूलका अमेरिकी नागरिकले भोटका लागि नाम दर्ता गराएका छन् । व्याटल ग्राउण्ड अर्थात् मुख्य प्रतिस्पर्धा हुने राज्यका रुपमा रहेको पेन्सलभेनियाको निर्वाचन निर्णायक हुने भनेर सारोकार भएका संयन्त्रको ध्यान केन्द्रित हुनुका साथै निर्वाचन समितिको परिचालन भइरहेको छ । सो राज्यमा करिब २५ हजार नेपाली भाषीको मतदानको अधिकार रहेकाले उनीहरु निर्णायक हुनसक्ने बताइएको छ ।
नेपाली मतदाताहरुलाई निर्वाचनसम्बन्धी जनचेतनाका लागि पेन्सलभेनियाको हयारिसवर्गमा आइपुगेका अमेरिकी राजनीतिज्ञ डा ह्यारी भण्डारीले यो स्थान निर्वाचन निर्यायक बनाउन सक्ने भएकाले निकै महत्वपूर्ण रहेको बताए। शनिबार मात्रै उहाँको अगुवाइमा मेरिल्याण्डबाट ५१ जना स्वयंसेवक परिचालन गरी भोट माग्न जुटेका भण्डारी हरेक मतको मूल्य हुने बताए ।
तुलनात्मकरूपमा आप्रवासीहरुप्रति नरम नीति अङ्गीकार गर्ने डेमोक्र्याट पार्टीले अमेरिकाको इतिहासमा पहिलो पटक महिलालाई सर्वोच्च कार्यकारी अधिकार प्रदान गर्नेगरी कमला ह्यारिसलाई मैदानमा उतारेको छ । उता अनेकन मुद्दा खेपिरहेका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प दोस्रो कार्यकालमा सत्ता आरोहणका लागि कडा मेहनत गरिरहेका छन् ।