काठमाडौं । आज साफ महिला च्याम्पियनसिपअन्तर्गत नेपाल र बंगलादेशबीच फाइनल खेल हुने भएको छ । नेपाल र भारतबीचको सेमिफाइनल खेलमा क्षमताभन्दा धेरै टिकट बिक्री भएपछि एन्फा आफैँले टिकट बिक्री गर्ने निर्णय गरेपछि आज टिकट लिनेको भीड बढेको छ । भौतिक रूपमा मात्रै टिकट बिक्री गर्ने निर्णय एन्फाले गरेपछि काठमाडौंका विभिन्न स्थानमा बिहान ८ बजेदेखि नै टिकट किन्नेहरूको भीड सुरु भएको छ ।
एन्फाले जावलाखेल मैदान र भद्रकालीको आर्मी गेटबाट टिकट बिक्री गरेको छ । फुटबल प्रतियोगिता हुने दशरथ रंगशालाको प्यारापिट १५ हजार जना अट्ने क्षमताको छ । तर ११ हजार थान टिकट मात्र बिक्री गरिने एन्फाको तयारी छ । जसमध्ये साधारणतर्फ १० हजार र भीआईपीमा १ हजार टिकट बेच्ने टुर्नामेन्ट डाइरेक्टर सञ्जीव मिश्रले बताए । टिकटको मूल्य ५ सय र एक हजार रुपैयाँ तोकेको छ ।
खेल साढे ६ बजेदेखि सुरु हुने भए पनि दर्शकलाई साँझ ५ बजेभित्रै रंगशाला प्रवेश गरिसक्न एन्फाले आग्रह गरेको छ ।