काठमाडौं । अविरल वर्षापछि आएको बाढी पहिरोबाट देशका विभिन्न स्थानको जनजीवन प्रभावित भएको छ । जाडो सुरु भएसँगै घरबारविहीन भएका प्रभावितहरूलाई सरकारले समेत समयमा राहत वितरण गर्न नसक्दा उनीहरूको दैनिकी नै कष्टकर बन्दै गएको छ । सरकारले ठूलो धनजनो क्षति भएको १२ जिल्लाका ४३ स्थानीय तहलाई राहत र पुनर्स्थापनाको लागि सहयोग गरे पनि कम क्षति भएका स्थानीय तहका पहिरो प्रभावितहरू भने सरकारको समेत नजरमा परेका छैनन् ।
पहिरोबाट घरबारबिहीन भएर पनि सरकारी बेवास्तामा परेका छन्, नुवाकोट जिल्ला दुप्चेश्वर गाउँपालिका वडा नं ३ का बासिन्दा । सरकारको नजरमा यो क्षेत्रमा अन्यत्रको तुलनामा थोरै क्षति भएको छ । तर यहाँका करिब ५ वटा घर पहिरोले पूर्ण क्षति भएपछि ती घरका बासिन्दाहरू छिमेकी घरमा शरण लिन बाध्य भएका छन् ।
गत असोज ११ र १२ गतेको वर्षाअघि दुप्चेश्वर ३ का रामकृष्ण केसीको परिवार राम्रैसँग चलिरहेको थियो । गाउँमा खेती किसानी गरेर जीविका चलाउने उनीहरूको परिवारले कडा मेहनत गरेर घरबारी जोडेका थिए । तर अकस्मात आएको बाढी पहिरोबाट उनीहरूको परिवारलाई ठूलो क्षति पुग्यो । मुस्किलले जोडेको घर समेत पहिरोले बगाइदिएपछि उनको परिवार अहिले छिमेकीकोमा बस्न बाध्य भएको छ ।
केसीको घरसँगै जोडिएका अन्य चारवटा घरको समस्या पनि उस्तै छ । अझ समस्याको विषय त थोरै क्षति पुगेको भनेर सरकारले बेवास्ता गरेका कारण उनीहरू झनै मर्कामा परेको केसीले गुनासो गरे ।