काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज अमेरिकाको न्यूयोर्क प्रस्थान गर्दैछन् । प्रधानमन्त्री सचिवालयका अनुसार ओली बिहान ११ बजे कतार एयरलाइन्सबाट अमेरिका जान लागेका हुन् ।
संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जान लागेका ओलीले यही असोज १० गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। महासभाको यस वर्षको साधारण बहस ‘कोही पनि पछाडि नछोडिनेः वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको विकासका लागि मिलेर काम गर्ने’ विषय रहेको छ।
न्युयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले अतिकम विकसित देशहरूको ग्लोबल समन्वय ब्यूरोको अध्यक्षका रूपमा सम्मेलनलाई पनि सम्बोधन गर्नेछन्। साथै उनले समुद्री सतह वृद्धिबाट उत्पन्न अस्तित्व खतरा विषयक समूहगत उच्चस्तरीय बैठक र ‘एन्टिमाइक्रोबियल’ प्रतिरोध विषयक उच्चस्तरीय बैठकलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ।