काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष वीर बहादुर खड्काले आइतबार राष्ट्रिय खेलकुद परिषद्लाई पत्र लेख्दै एन्फाका सीईओको नियुक्ति बदरको माग गरेका छन् । २०७९ फागुन १९ गतेको एन्फा कार्यसमितिको बैठकले सीईओ (अधिकृत प्रथम) नियुक्तिका लागि सूचना प्रकाशित गर्ने निर्णय भएकोमा पछि एन्फाको नियमावलीविपरीत कर्मचारी नियुक्ति गरिएको भन्दै खड्काले खारेज गर्न माग गरेका हुन् ।
वरिष्ठ उपाध्यक्ष खड्काले स्वार्थ बाझिने गरी एउटा क्लबको अध्यक्षलाई एन्फाको सीईओ बनाएको भन्दै नियुक्ति बदरको माग गरिएको बताएका छन् । उनका अनुसार नियमावलीविपरीत २०८० साल पुष २ गतेको कार्यसमिति बैठकमा कार्यसमितिको पदाधिकारी तथा सदस्यहरूको असहमतिका बाबजुद संकटा क्लबका अध्यक्ष समेत रहेका इन्द्रमान तुलाधरलाई नियुक्त गरिएको थियो ।
पदपूर्ति समितिको विज्ञापनपछि शैक्षिक योग्यता र अनुभवको मूल्यांकनबाट विज्ञहरूको उपस्थितिमा छनौट गरी निर्णयार्थ संघको विधानको धारा ३८ (छ) अनुमोदन गराउनुपर्ने उल्लेख छ । यसको अपव्याख्या गरी नियुक्ति दिएको आरोप खड्काको छ । एन्फाको विद्यमान कर्मचारी सेवा शर्त नियमावली २०७७ बमोजिम पदपूर्ति समिति समेत गठन गरेको अवस्थामा सचिवालयले उक्त निर्णयलाई कार्यान्वयन नगरी प्रक्रिया अगाडि बढाएर गैरकानुनी काम गरेको खड्काको ठहर छ ।