काठमाडौं । भगवान बुद्ध ध्यानमा बसेको महिनाको सम्झनामा अहिले एक महिना गुँला पर्व मनाउने गरिन्छ । यसैको महत्वपूर्ण दिनको रूपमा आज स्वयम्भूनाथमा सप्तविधानुत्तर पूजा गरिएको छ । एक देखि एक सय आठ गुरुहरूबाट हुने यो पूजाको अवसरमा मानिसले आफ्ना खराब खानपान तथा व्यवहार त्याग्ने गर्छन् ।
आज वरिष्ठ तथा ज्येष्ठ नागरिक समाज काठमाडौँ महानगरपालिका–१५ स्वयम्भूले आयोजना गरेको पूजामा मूलाचार्य, उपाध्याय तथा अन्य गुरुज्यूहरूले सामूहिक रूपमा उक्त पूजा गरेका छन् ।
समाजका अध्यक्ष शारदामुनि बज्राचार्यका अनुसार बौद्ध धर्मका अनुयायीहरूले विभिन्न प्रकारबाट पूजा गर्ने गर्दछन् । तीमध्ये प्रख्याति सप्तविधानुत्तर पूजा एक हो । उनका अनुसार सप्त भनेको सात र विधान भनेको विधिविधान हो । पूजाविधिअन्तर्गत बौद्ध बज्रयानी अभ्यासमा चारतन्त्रबमोजिम क्रियातन्त्र, चर्यातन्त्र, योगतन्त्र र अनुत्तर योगतन्त्र हुने गर्छ ।
सप्तविधानुत्तर पूजालाई उच्चतम श्रद्धा र आस्थायुक्त पूजा क्रियाको रुपमा लिने गरिन्छ । बज्राचार्यका अनुसार आफ्नो र अरुको हित गर्ने, विभिन्न ग्रहदशा निवारण भई सुख, शान्ति र आनन्दका लागि यो पूजा गरिन्छ ।
सुखमा, दुःखमा, जन्मदिनमा आपत्विपत् परेको समय, गृहकलहलगायत बेला यो पूजा गर्ने गरिन्छ ।