काठमाडौं खबर भदौ ७, २०८१
काठमाडौं । समाजमा उच्छृंखल गतिविधि फैलाएको आरोपमा प्रतिबन्ध लगाएको १० महिनापछि सरकारले टिकटकमाथि प्रतिबन्ध फुकुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले शर्तसहित टिकटकलाई लगाइएको प्रतिबन्ध खुल्ला गर्ने निर्णय गरेको सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
सरकारले नेपालमा सम्पर्क कार्यालय गर्नुपर्ने, सूचीकरण गर्नुपर्ने लगायत शर्त तोकेर सञ्चालन अनुमति दिएको हो । बैठकले टिकटकलाई तीन महिनाभित्रमा विभिन्न मापदण्ड र प्रक्रिया पूरा गर्न पनि सरकारले निर्देशन गरेको छ । तत्कालीन पुष्पकमल दाहाल प्रचण्ड सरकारले गत वर्षको कात्तिकदेखि सामाजिक विकृति बढाएको भन्दै टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।
सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले नेपाल दूरसञ्चार प्राधिकरणलाई परिपत्र गर्ने गर्छ । सो परिपत्रपछि प्राधिकरणले विभिन्न सेवा प्रदायकले सर्बर खुला गरेपछि प्रतिबन्ध फुकुवा हुने छ । यसको लागि केही दिन लाग्न सक्नेछ । तर मन्त्रिपरिषद्को निर्णयपछि सेवाप्रदायकले अनौपचारिक रुपमा भने शुक्रबारदेखि नै खुला गरिदिन सक्नेछन् ।