काठमाडौं खबर भदौ ४, २०८१
काठमाडौँ । सोमबार साँझ प्रधानमन्त्री केपी शर्मा ओली रक्षाबन्धन गरेर प्रधानमन्त्री निवास बालुवाटारमा राजनीतिक भेटघाटमा व्यस्त थिए । सोही समयमा काठमाडौंकै सोल्टी होटलमा नेपाल क्रिकेट संघ (क्यान)को कार्यक्रम आयोजना भइरहेको थियो । क्यानको नेपाल प्रिमियर लिग (एनपीएल)को लोगो सार्वजनिक गर्ने कार्यक्रम थियो । सो कार्यक्रममा प्रधानमन्त्रीलाई प्रमुख अतिथिको रूपमा बोलाइएको थियो । तर प्रधानमन्त्रीले समय व्यस्तताका कारण भन्दै समय दिएका थिएनन् ।
आयोजकले निम्तो दिएकै भरमा सहभागीलाई प्रधानमन्त्री आउँदै गरेको जानकारी दियो । कार्यक्रम सुरू गर्दै गर्न प्रधानमन्त्रीले भनेको आयोजनकले बताए । कार्यक्रममा आयोजकले प्रधानमन्त्री सहभागी हुने भनेर आन्तरिक सर्कुरमात्रै गरेको थिएन उनी आउँदैछन् भनेर निर्धारित समयभन्दा ढिलागरी कार्यक्रम सुरु समेत गरे ।
कार्यक्रम सुरु भएपछि केही समयमा आयोजकका तर्फबाट उद्घोषकले प्रधानमन्त्री आउनै लागे पनि स्वास्थ्य खराब भएकाले आउन नसकेको बताए । साथै, आफू आउन नसेकपछि शुभकामना सन्देश पठाएको समेत बताउन भ्याए ।
प्रधानमन्त्री सचिवालयका एक अधिकारीका अनुसार प्रधानमन्त्रीले सो कार्यक्रममा उपस्थित हुने जानकारी दिएका नै थिएनन् । साथै उनी बिरामी भएको खबरमा पनि सत्यता नभएको एक अधिकारीले जानकारी दिए । ती अधिकारीले प्रधानमन्त्री बिरामी भएको भन्नु र आउने तय नै नभएको कार्यक्रममा आउँदैछन् प्रचार गर्नु गलत भएको भन्दै यसको बारेमा छानबिन हुने बताएका छन् ।