काठमाडौं । पछिल्लो समय हैजाको समस्या बढीरहेको छ । बाढी पहिरोका कारण हुने पानीजन्य अशुद्धताले बढाउने हैजा विशेषगरेर ललितपुर क्षेत्रमा देखिएको छ । ललितपुरको गोदावरी क्षेत्रबाट पहिलोपटक हैजा पुष्टि भएकोमा यो मात्रा दिनप्रतिदिन बढ्दै गएको छ । स्वास्थ्य विभाग टेकुले दिएको जानकारीअनुसार देशभरका कुल संक्रमितमध्ये दुईतिहाइभन्दा धेरै संख्या ललितपुरमा भेटिएको छ । यस मामलामा अहिलेसम्म काठमाडौं भने सुरक्षित देखिएको छ ।
विभागले देशभर ५० जनामा हैजा सङ्क्रमण भएको र त्योमध्ये ललितपुरमा मात्रै ३८ जना सङ्क्रमित रहेको जानकारी दिएको छ। विभागका अनुसार काठमाडौँमा दुई, प्युठानमा दुई, कैलालीमा आठ जनामा हैजा सङ्क्रमण भएको छ ।
यसरी संक्रमण ललितपुर केन्द्रित भएपछि स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले प्रतिकार्य टोली परिचालनगरी नियमित बिरामीको खोजी र बिरामीहरुको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिमा लक्षणको निगानी गर्ने कार्य सुरु गरेको जनाएको छ । महाशाखाले गत आइतबारदेखि पालिकाको सरोकारवालासँग बैठक बसी सबै सरोकारवालामार्फत प्रतिकार्य प्रभावकारी बनाउने निर्णय भएको महाशाखाको भनाइ छ।