

काठमाडौँ । आज अन्तर्राष्ट्रिय क्यान्सर दिवस । विभिन्न सचेतनामूलक कार्यक्रम आयोजना गरी विश्वभर मनाइँदैछ। समयमै उपचार गरे रोगबाट मुक्त हुन सकिने जानकारी दिँदै नेपाल सरकारले पनि विभिन्न कार्यक्रमको आयोजना गर्दै क्यान्सर दिवस मनाउँदैछ। क्यान्सरका विभिन्न चरण र कारणको बारेमा संक्षिप्त रूपमा तल जानकारी दिइएको छ।
क्यान्सरका चार चरण
क्यान्सरका चार चरण (स्टेज) रहेका छन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा शाहीका अनुसार शून्यदेखि तीन स्टेजको क्यान्सरलाई पूर्ण रूपमा निको पार्न सकिने र चार स्टेजको क्यान्सरलाई नियन्त्रण गर्न सकिनेछ । क्यान्सर एक ठाउँबाट सरेर अर्को ठाउँमा गयो भने खतरनाक हुने उनको भनाइ छ । उनले नसर्ने बेलासम्म क्यान्सरलाई उपचार गर्न सकिने उल्लेख गरे ।
डा शाहीले फोक्सोको सानो क्षेत्रमा मात्र क्यान्सर भयो बढेर कहीँ पनि गएको छैन भने त्यसलाई चरण शून्य, अलिकति क्यान्सर बढेर गयो भने चरण एक, फोक्सामा अलि धेरै क्यान्सर फैलियो भने चरण दुई, फोक्सोबाट काखीसम्म गएर गिर्खा आएको छ भने तेस्रो चरण र त्यहाँबाट अर्को अङ्ग कलेजो, पेटमा गयो भने त्यसलाई चरण चार भनिने जानकारी दिए ।
नेपालमा सस्तो उपचार
भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा चालिसेका अनुसार नेपालमा ९५ प्रतिशत क्यान्सरको उपचार हुन्छ । क्यान्सरको उपचारमा नेपाल विश्वको तुलना सस्तो रहेको बताउँदै उनले सरकारी अस्पतालमा उपचार गर्दा बिरामीलाई आर्थिक भार कम पर्ने विचार राखे ।
उनले सरकारी अस्पतालमा रु ४० देखि रु ५० हजारसम्ममा क्यान्सरको शल्यक्रिया हुने जनाउँदै त्यही उपचार निजी अस्पतालमा गर्दा रु पाँच लाखसम्म लाग्ने बताए । “सरकारी अस्पतालको सेवा शुल्क एकदमै कम रहेको छ । साथै सरकारले क्यान्सरका बिरामीलाई उपचारका लागि रु एक लाख उपलब्ध गराउने गर्दछ”, उनले भने ।
क्यान्सर हुनुका कारण
क्यान्सर अत्यधिक मद्यमान र सुर्तीजन्य पदार्थको सेवन, खानपिन, जीवनशैली, आराम, विकीरणको प्रभाव, जीवाणुको कारण, वंशाणुगतलगायत मुख्य कारण रहेका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा शाहीले बताए।
“भातदाल तरकारी र अचार नखाएर हामी बढीजसो फास्टफुड, जङ्कफुड, धुम्रपान, मध्यपान, पोलेको, व्यायाम नगर्दा, सडेगलेका तथा बासी खानेकुरा खाने गर्दर्छौँ, यसले क्यान्सरको जोखिम बढाउँछ”, उनले भने । उनले खानपिन, आराम, व्यायाम, धुम्रपान, मध्यपान र मोटोपनलाई रोक्नसके क्यान्सरलाई कम गर्न सकिने धारणा राख्नुभयो । उहाँका अनुसार शरीरको कोष तथा कोषिकाको समूह अस्वाभिक रूपमा वृद्धि हुनुलाई क्यान्सर भनिन्छ । यो एक प्रकारको गिर्खा वा ट्युमर पनि हो ।
भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा चालिसेका अनुसार शरीरमा रहेका कोषको जन्म, विकास निर्माण, मृत्यु गर्र्नेसम्मको प्रक्रियालाई नियन्त्रण गर्ने जिन रहेको हुन्छ, त्यही जिनमा खराबी उत्पन्न भएपछि कोषको अनियन्त्रित वृद्धि हुँदै जाने र अन्त्यमा मानिसमा क्यान्सर लाग्ने गर्दछ ।