काठमाडौं खबर साउन २५, २०८१
काठमाडौं । रमेश विकलको समग्र कथा, उपन्यास र नाटकखण्डको लोककार्पण भएको छ । शुक्रबार जोरपाटीमा भएको एक कार्यक्रमका बीच गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसालले सो कृति लोकार्पण गरेका हुन् । गोकर्णेश्वर नगरपालिकाको पहलमा आयोजित सो कार्यक्रममा रमेश विकल साहित्य प्रतिष्ठानले प्रकाशन गरेका तीनवटा संग्रह सार्वजनिक गरिएको हो । कार्यक्रममा रमेश विकलका कथाहरूको साहित्यकार हेमनाथ उपाध्यायले, नाटक र एकाङ्गीहरूको शार्दुल भट्टराई र उपन्यासहरूको गोपीनाथ मैनालीले समीक्षात्मक टिप्पणी गरेका थिए ।
कार्यक्रममा मन्तव्य राख्दै मेयर रिसालले प्रसिद्ध साहित्यकारको जन्म र कर्मभूमि गोकर्णेश्वर नगरपालिकामा हुनु नगरवासीको लागि गर्वको कुरा रहेको बताए । प्रमुख रिसालले प्रतिष्ठानसँगको सहकार्यमा यस्तो कार्यक्रम गर्न दिएकोमा धन्यवाद ज्ञापन गर्दै साहित्य सिर्जना र साहित्यकारहरूको प्रोत्साहन नगरपालिकाको प्राथमिकतामा रहेको भन्दै फेरिफेरि पनि यस्ता कार्यक्रमहरूमा नगरपालिकाले सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले नगरवासी साहित्यकारहरुले प्रकाशन गरेका कृतिहरु खरिद गरिदिने गरेको, नगरभित्रका साहित्यिक संस्थाहरुलाई आर्थिक अनुदानको व्यवस्था गरेको र प्रत्येक वर्ष पालिकाभित्रका साहित्यकार र राष्ट्रियस्तरका साहित्यकारका लागि एक/एक लाखका दुईवटा पुरस्कार प्रदान गर्ने प्रबन्ध गरेको रिसालले बताए ।
कार्यक्रममा आयोजक संस्था रमेश विकल प्रतिष्ठानका अध्यक्ष रोचक घिमिरेले प्रतिष्ठानले तयार पारेका कृतिको लोकार्पण कार्यक्रममा नगरपालिकाले दिएको साथ र सहयोगप्रति धन्यवाद दिँदै यस्तो साथ र सहयोगले थप कृति प्रकाशनमा हौसला मिलेको बताए । उनले कृति लोकार्पणमा सहभागी सम्पूर्ण साहित्यक व्यक्तित्वहरूलाई साहित्यले नै समाज परिवर्तनमा योगदान दिने भन्दै साहित्य सिर्जना सक्रिय रहन आग्रह गरे ।
कार्यक्रममा प्रतिष्ठानका महासचिव विजय चालिसेले महत्वपूर्ण सहयोगका लागि मेयरलगायत नगरपालिकासँगै रमेश विकलका कृतिहरु संकलन, सम्पादन र प्रकाशनकार्यमा योगदान दिने सम्पूर्णप्रति कृतज्ञता व्यक्त गरे ।