काठमाडौैं । आइतबार भक्तपुर प्रहरीले बालकोटबाट हास्य कलाकार मनोज गजुरेलकी पूर्वपत्नी मीना ढकाललाई पक्राउ गर्यो । सात वर्षअघि सम्बन्धविच्छेद गरेकी ढकालले केही अभियान्ताहरु लिएर मनोज गजुरेलको घरमा ताला लगाउन भन्दै गएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
बिहान गजुरेल घरबाट निस्किएपछि दलबलसहित पुगेकी मिनाले गजुरेलकी ८५ वर्षीया आमामाथि समेत धरपकड गरेको प्रहरीले जनाएको छ । आमामाथि धरपकड भएपछि मनोजका दाइ केशव गजुरेलले प्रहरीलाई खबर गरेका थिए । घरमा भएका सबैमाथि हातपात गरेका उनीहरुले घरमा तालाबन्दी गर्ने प्रयास गर्दैगर्दा प्रहरीले उनलाई पक्राउ गरेर लगेको थियो ।
सम्बन्ध विच्छेदको करिब सात वर्ष पुगिसक्दा ढकालले गजुरेलमाथि पटकपटक यातना दिने काम गर्दै आएकी छन् । कहिले सामाजिक सञ्जालमा मनपरी लेख्ने त कहिले युट्युबमा अनेक अनेक भन्दै गजुरेलको चरित्र हत्या गर्ने काम गर्दै आएकी मिना अहिले भने घरमै ताला लगाउन भन्दै गएपछि पक्राउ परेकी हुन् ।
मनोजका परिवारले निरन्तर यातना दिने गरेको भन्दै मीनामाथि कडा कारबाहीको माग गरेका छन् ।