काठमाडौं । नेपालको निकासी सूचकांक निकै नै गयगुज्रेको मानिन्छ । यसैका कारण प्रत्येक वर्ष बढ्दो व्यापार घाटाको मार बेहोर्दै आएको छ। निर्यातजन्य बस्तुको अभावदेखि नेपालीको कृषि क्षेत्रमा देखिएको विकर्षणले नेपालको आफ्नो आर्थिक मेरुदण्डकै अभाव देखिएको बेलामा निकासीको सूचकांकले निराशामात्र बाँडिरहेको छ ।
व्यापार घाटाका हिसाबले मात्र हैन, भ्रष्टाचारले पनि उत्तिकै आक्रान्त छ मुलुक। दिनदहाडै विमानस्थलबाट सुन भित्रिन्छन्। लागुऔषधको कारोबार खुलेयाम हुन्छ। सरकारी आहरूमा घूस नदिइ काम हुन्न। हरेक क्षेत्र बिचौलियाका कारण ध्वस्त छ। प्रक्रियाका नाममा हुने चलखेलले सर्वसाधारण आक्रान्त छन्। कुनै पनि ठाउँमा नीति र कानुनले काम गरिरहेको छैन। यस्तो अवस्थाले चौतर्फी निराशा मात्र जन्माएको छ। त्यसैले सम्पूणर् नेपाली असफल राष्ट्रको सूचीमा पुग्न नपरोस् भन्ने कामना गरिरहेका छन्।
यसैबीच सिमेन्ट निर्यातको बढ्दो ग्राफले केही सकारात्मक सूचना प्राप्त भएको छ । । चालु आर्थिक वर्षको सात महिनामा अघिल्लो आर्थिक वर्षको यही अवधिको भन्दा सात गुणाले नेपाली सिमेन्ट निर्यात भएको छ । आर्थिक वर्ष २०८०/८१ को पहिलो सात महिनामा दुई अर्ब ६ करोड रूपैयाँको सिमेन्ट र क्लिंकर भारत निर्यात भएको छ जबकि अघिल्लो एक वर्षमा ७७ करोड ९३ लाख रुपियाँको मात्र निर्यात भएको थियो। सम्पूणर् आर्थिक सूचकहरू नकारात्मक देखिएका बेला सिमेन्ट निर्यातले देखाएको यो हिसाब सकारात्मक संकेत हो।
यही तथ्यांकले पक्कै पनि आशाको सञ्चार गराउन काफी छ । गत वर्ष मासिक सरदर ६ करोड रूपैयाँको सिमेन्ट निर्यात भएकामा अहिले यो बढेर मासिक २९ करोड रूपैयाँ पुग्नु मुलुककै लागि सुसमाचार हो। नेपालबाट पाल्पा, अर्घाखाँची, सर्वोत्तम, सिजी, बालाजी, बाहुबलीलगायत नाम गरेका सिमेन्ट भारतमा निर्यात हुँदै आएको छ। स्थानीय चुनढुंगा प्रयोग गरिने भएकाले यहाँको सिमेन्टमा आकर्षण धेरै हुने र यही कारण भारतीयको रोजाइमा नेपाली सिमेन्ट पर्ने गरेको छ। भारतीय पक्षको बढ्दो मागका कारण यो वर्ष करिब पाँच अर्ब रूपैयाँको सिमेन्ट भारततर्फ निर्यात गर्ने लक्ष्य सिमेन्ट उद्यमीले राखेका छन्। चौतर्फीरूपमा घाटा बढ्दै गएका बेला उद्यमीमा देखिएको यो उत्साह पक्कै पनि मुलुकका लागि गर्वलायक छ।
सिमेन्ट निर्यातमा देखिएको सकारात्मकताले प्रष्ट पारेको विषय के हो भने सरकारी नीति सही भएमा र उद्यमीका पीरमर्का बुझेर सोहीअनुरूप वातावरण बनाइदिएमा नेपाली उद्योग क्षेत्र र उद्यमी पनि विदेश निर्यात गर्ने स्तरीय सामग्री उत्पादन गर्न सक्षम छन्। सरकारले स्वदेशी वस्तु निर्यात गर्ने उद्योगलाई आठ प्रतिशतसम्म नगद अनुदान र १० करोड रुपियाँ भन्दा बढीको विद्युत् खपत गर्ने उद्योगलाई महसुलमा १५ प्रतिशतसम्म छूट दिने नीति लागु गरेको छ। जसको भरपुर उपयोग सिमेन्ट उद्योगले गरिरहेका छन्। अहिले सिमेन्ट उत्पादन गर्ने उद्यमीहरू हौसिनु र निर्यात बढ्नुको मुख्य कारण पनि यही हो।
नेपालका सिमेन्ट उद्योगको वार्षिक करिब साढे दुई करोड टन सिमेन्ट उत्पादन गर्न सक्ने क्षमता छ। जबकि वार्षिकरूपमा स्वदेशी बजारले खपत गर्ने माग भनेको मात्र एक करोड २० लाख टन हो। यसरी हेर्दा सवा करोड मेट्रिक टन सिमेन्ट निर्यात गर्ने सम्भावना छ। उद्यमीहरू पनि आफूहरूलाई केही थप सहुलियत मिल्ने हो भने वार्षिक एक खर्ब ५० अर्ब रुपियाँ बराबरको सिमेन्ट निर्यात गर्न सकिने बताइरहेका छन्। उनीहरू यसरी हौसिनु भनेको घाउमा मलम लगाउने प्रयासका रूपमा बुझ्नु उचित हुनेछ।