२३ माघ, काठमाडौं ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशमा शान्तिपूर्ण निर्वाचनका लागि अनुकूल वातावरण तयार भइसकेको बताएका छन्। प्रारम्भमा शान्ति–सुरक्षाको अवस्थालाई लिएर विभिन्न आशंका रहे पनि अहिले त्यस्तो चिन्ता नरहेको उनको भनाइ छ ।

‘निर्वाचन सुरक्षाको सन्दर्भमा यो शताब्दीकै जटिल चुनौती हो भन्ने बुझाइका साथ निर्वाचन घोषणा भएको भोलिपल्टदेखि नै हामीले छलफल सुरु गरेका थियौं,’ कावा प्रमुख आयुक्त भण्डारीले भने ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिन बाध्य भएका थिए। त्यसपछि भदौ २७ गते पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भयो। सोही सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरी फागुन २१ गतेका लागि निर्वाचन मिति घोषणा गरेका हुन् ।
यी राजनीतिक घटनाक्रमका कारण प्रारम्भिक चरणमा निर्वाचन सुरक्षाप्रति व्यापक चासो र आशंका रहनु स्वाभाविक भएको भण्डारीले बताए ।
‘यो विद्रोहपछिको सरकार हो, तर संविधान जीवित छ,’ उनले भने, ‘पुराना शक्ति र नयाँ उदाएका शक्तिहरूबीच सन्तुलन कायम हुन सकेन भने निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुन सक्दैन ।’
उनका अनुसार सम्भावित सुरक्षा चुनौतीहरूको पहिचान गरी निर्वाचन आयोगले सरकारसँग पटक–पटक छलफल गरिसकेको छ र अहिलेको अवस्था उत्साहजनक देखिएको छ।

