

काठमाडौँ । नेपाल राष्ट्र बैंकको १८औं गभर्नरमा डाक्टर विश्वनाथ पौडेल नियुक्त भएका छन्। आज बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई आगामी पाँच वर्षका लागि गभर्नर पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
मन्त्रिपरिषद् बैठकअघि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा बसेको तीन सदस्य गभर्नर छनोट समितिले डाक्टर पौडेलसहित राष्ट्र बैंकका डेपुटी गभर्नर निलम ढुंगाना र पूर्व सचिव दिनेश भट्टराईको नाम सिफारिस गर्ने निर्णय गरेको थियो। सोही सिफारिसको आधारमा मन्त्रिपरिषदले पौडेललाई गभर्नर नियुक्त गरेको हो।
सिफारिस समितिको सिफारिसका आधारमा उनलाई नियुक्ति गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले जानकारी दिए ।
डा पौडेल राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षसमेत हुनुहुन्छ । यसअघि गभर्नर सिफारिस समिति सदस्य रहेका उनले पछि त्यसबाट राजीनामा दिएका थिए । गभर्नर नियुक्तिको विषय पछिल्लो समय निकै चर्चामा थियो ।