

काठमाडौं । व्यापारिक लेनदेनमा पुर्जी जारी भएका लुम्बिनी प्रदेशसभा सांसद प्रधानमन्त्री उपस्थित कार्यक्रममा अतिथिको रूपमा सहभागी भएका छन् । कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ (क) बाट नेकपा (एमाले) बाट निर्वाचित ५० वर्षीय पन्थीविरुद्ध २०८१ असार १२ मा मोरङ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । तर राजनीतिक पहुँचको आधारमा उनी बच्दै आएका छन् ।
उनी सञ्चालक रहेको गौतमबुद्ध हाइड्रोपावर प्रालिले पल्लवी इलेक्ट्रा प्रालिको बक्यौता भुक्तानी नगरेर व्यापारिक लेनदेनमा अपराध गरेकोसम्बन्धी मुद्दामा अदालतले पन्थी र उनका साझेदार देवराज खनाललाई जनही ६ महिना कैद सजायको फैसला गरेको थियो । २०८१ जेठ ३२ मा भएको यो फैसलापछि पन्थी फरार रहेको बताइएको छ ।
तर लुम्बिनीमा आज आयोजित बुद्ध जयन्तीको भव्य कार्यक्रममा पन्थी प्रधानमन्त्री ओलीसँगै मञ्चमा देखिए पनि प्रहरीले उनलाई पक्राउ गर्न सकेन । अदालतको पक्राउ आदेश कार्यान्वयन गर्न काठमाडौँ हुँदै रुपन्देही प्रहरीमा पत्राचार भएको भए पनि पन्थीले निर्बाध रूपमा सार्वजनिक कार्यक्रममा सहभागिता जनाएका छन् । प्रधानमन्त्री उपस्थित सो कार्यक्रममा नै प्रहरीले उनलाई नभेट्नुले प्रहरीमाथि नै आलोचना सुरु भएको छ ।
कार्यक्रममा उनको उपस्थितिको हल्ला फैलिएसँगै उनी प्रहरीको आँखा छलेर फरार भएका थिए ।