

काठमाडौं। झन्डै एक महिनादेखि आन्दोलनरत शिक्षक र सरकारबीचको मङ्गलबारको वार्ता पनि निष्कर्षविहीन भएको छ। मंगलबार राति ८ बजेदेखि १० बजेसम्म शिक्षा मन्त्रालयमा भएको बैठकमा शिक्षकहरुले नौ बुँदे माग राखेका थिए । अर्थमन्त्री गृहमन्त्रीसहित बसेको बैठकमा शिक्षकहरूले राखेका नौ बुँदे मागमाथि थप गृहकार्य गर्नुपर्ने भन्दै मङ्गलबारको वार्ता बिना निष्कर्ष टुङ्गिएको हो।
आन्दोलनको नेतृत्व गरिरहेको शिक्षक महासङ्घ र सरकार दुवै पक्ष वार्ता सकारात्मक रहेको भन्दै बुधबार टुङ्गोमा पुग्ने अपेक्षामा छन्। शिक्षकहरूले माग पूरा हुने आश्वासन पाएमा आन्दोलनको मोडालिटी परिवर्तन गर्न तयार रहेको बताएका छन्। यिनीहरूले आन्दोलन जारी राख्दै कक्षा १२ को परीक्षालाई प्रभावित नपार्ने गरी आन्दोलनको नयाँ मोडालिटी तयार पार्ने बताएका छन्।
मङ्गलबारको वार्तामा के कुरा टुङ्गियो र के बाँकी छ भन्ने विषय भने सार्वजनिक भइसकेको छैन।लक्ष्मीकिशोर सुवेदी नेतृत्वमा शिक्षकहरूको टोली वार्तामा सहभागी थियो । शिक्षक सङ्गठनहरूले विभिन्न माग राखी चैत २० गतेदेखि आन्दोलन गरिरहेका छन् ।
यसअघि सोमबार भएको वार्ता पनि निष्कर्षविहीन बनेको थियो ।