

काठमाडौं । गत असोजमा गएको पहिरोमा परी खेलाडीको ज्यान गएको विषयमा सर्वोच्च अदालतले एन्फाको नाममा कारण देखाउ आदेश जारी गरेको छ। एन्फा मकवानपुरको सिस्नेरीमा सन्चालित एन्फा एकेडेमीमा रहेका छ जना बाल फुटबल खेलाडीको मृत्यु प्राकृतिक प्रकोपको कारण मात्र नभई एन्फा र वत्सला माध्यामिक विद्यालय व्यवस्थापनको गम्भीर लापरवाहीका कारण हुन गएको भन्दै पीडित पक्षले सरोकारवाला निकायमा पहिले नै निवेदन दिँदै आएको थियो ।
जसका लागि मृतकका हकवालाहरुले उच्चस्तरीय छानबिनसहितका माग राखी एन्फा, राखेप, युवा तथा खेलकुद मन्त्रालयमा निवेदन दिँदै आएको छ । अनेकौं प्रयत्नका बाबजुत सम्बन्धित निकायले आफूहरूको मागको सुनुवाई नभएकाले बाध्य भएर अदालत जानुपरेको उनीहरूको भनाइ छ ।
मृतकका हकवालाहरुले सम्मानीत सर्वोच्च अदालतमा हालसम्मको क्षतिपूर्ति रकम, बीमा रकम, जांचवुझ आयोग ऐन २०२६ बमोजिम घटनाको सत्य तथ्य छानबिन गरी दोषीमाथि कारबाही फिफालगायतसँग गरेको सम्झौताबमोजिम बीमा रकम, क्षतिपूर्ति रकम उपलब्ध गराउन मागदाबीसहित एन्फा, राखेप, युवा तथा खेलकुद मन्त्रालय, बत्सलादेवी माध्यामिक विद्यालय, जिप्रका हेटौडा, गृह मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी वनाई दायर गरेको मुद्दामा न्यायधीश अव्दुल अजिज मुसलमानको एकल इजलासले अग्राधिकारसहित कारण देखाऊ आदेश जारी गरेको छ ।