

काठमाडौं । काठमाडौँ महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीको नाममा १ लाख रुपैयाँ जरिवानाको बिल पठाएको छ। आइतबार पूर्व राजा ज्ञानेन्द्र काठमाडौँ फर्किने क्रममा एयरपोर्टबाट निर्मल निवाससम्म मानवसाङ्लो बनाएर गरिएको प्रदर्शनमा फोहोर गरिएको भन्दै जरिवाना तिराइएको हो।
महानगर प्रहरीले राप्रपा मुख्यालयका नाममा पत्र लेखेर पार्टी कार्यालयको आयोजना गरिएको कार्यक्रममा सहभागीहरूबाट एयरपोर्ट, तिलगंगा गौशालालगायत सार्वजनिक क्षेत्रका सडक, सडकपेटी तथा आईल्याण्ड र त्यहाँका बिरुवा साथै रेलिङ्गमा भौतिक क्षति र जथाभावी रुपमा फोहोरमैला गरेको जनाएको छ ।
निर्वाचन आयोग, र काठमाडौं महानगरको प्रशासन विभागलाई बोधार्थ दिइएको उक्त पत्रमा नगर प्रहरी निरीक्षक लीलाराज गाछा थापामगरले हस्ताक्षर गरेका छन् ।
महानगरपालिकाले यसअघि काठमाडौंको दरबार मार्गमा नेकपा एमालेले आयोजना गरेको कार्यक्रममा समेत फोहोर गरेको भन्दै २ लाख रुपैयाँ जरिवाना तोकेको थियो।