

काठमाडौं । आजदेखि सहिद स्मारक बी डिभिजन लिग फुटबल खेल सुरु हुँदैछ। दिउँसो साढेति बजे दशरथ रङ्गशालामा लिगको उद्घाटन खेल हुन लागेको एन्फाले जनाएको छ।
आइतबारको उद्घाटन खेलमा च्यासल युथ क्लब र वीरगञ्ज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ । एकल राउन्ड रोबिनका आधारमा हुने लिगमा ९१ खेल हुने छन् । प्रतियोगिता दशरथ रङ्गशाला र सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने छन् ।
प्रतियोगितामा १४ क्लबले प्रतिस्पर्धा गर्दै छन् । ‘बी’ डिभिजनमा रानीपोखरी कर्नर टिम (आरसीटी), श्री भगवती, टुसाल युथ, ब्रिगेड ब्वाइज, ब्वाइज युनियन, मध्यपुर युथ, च्यासल युथ, श्री कुमारी, बाँसबारी, नयाँबस्ती युथ, सरस्वती युथ, वीरगञ्ज युनाइटेड, झापा फुटबल क्लब र प्लानिङ ब्वाइज युनाइटेड छन्।
लिगको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । यस्तै, तेस्रो हुने टोलीले ५ लाख पुरस्कार पाउने छ ।