

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई अमेरिकाको तर्फबाट दिइँदै आएको सैन्यलगायत सबै खाले सहयोगमा रोक लगाएका छन्। केही दिनअघि हाइट हाउसको ओभल हाउसमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्सकीसँगको वार्ता सौहार्दपूर्ण नभएपछि ट्रम्पले युक्रेनलाई दिँदै आएको सम्पूर्ण सहयोगमा रोक लगाउने निर्णय गरेका हुन् ।
किभले वार्ताका लागि विश्वसनीय वातावरण नबनाएसम्म सम्पूर्ण सहयोग रोक्ने निर्णय भएको सोमबार ब्लुमबर्ग र फक्स न्युजको समाचारमा उल्लेख गरेका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पले ट्रुथ सोसलमा जेलेन्स्कीले युद्ध चाहेको कुरा उल्लेख गरेको केही घण्टापछि सो निर्णय भएको जनाइएको छ ।
ट्रम्प प्रशासनलाई उद्धृत गर्दै फक्स न्युजले लेखेको छ, ‘यो अस्थायी निर्णय हो । वार्ताको वातावरण बनेमा सहयोग जारी रहन सक्छ ।’
युक्रेनका ३५० अर्ब अमेरिकी डलर बराबरको खनिज अहिले रुसले कब्जा जमाएको भूमिमा पर्छ । रूससँगको युद्धको समयमा अमेरिकाले करिब ५०० अर्ब अमेरिकी डलर बराबरको सहयोग गरिसकेकाले सो भूमिमा आफ्नो अधिकार हुनुपर्ने अमेरिकाको माग छ।