

काठमाडौ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्य देशका नागरिकलाई ५० लाख अमेरिकी डलर तिरेर गोल्डेन कार्ड किन्न सक्ने व्यवस्था गरेका छन्। गोल्डेन कार्डलाई कतिपयले अमेरिकी नागरिकता भनेर व्याख्या गरे पनि बाहिर चर्चामा आएजस्तो यो नागरिकता भने नरहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।
अमेरिकामा अहिले पनि लगानी गर्नका लागि EB5 इन्भेष्टमेन्ट भिसामा आउनेहरूका लागि एउटा छुट्टै हिसाबको प्रावधान रहेको छ। जसमा न्यूनतम १० लाख अमेरिकी डलर तिर्नुपर्ने र लगानी गरेको क्षेत्रमा कम्तिमा १० जना अमेरिकीहरुलाई पूर्णकालीन रोजगारी दिनुपर्ने व्यवस्था रहेको छ। त्यस्तो लगानी गरेको खण्डमा उनीहरुले आफ्नी श्रीमती र २१ वर्ष नपुगेका अविवाहित छोराछोरीलाई अमेरिका लैजान पाउने व्यवस्था रहेको छ।
सो प्रावधानलाई अघिल्लो कार्यकालमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १८ लाख अमेरिकी डलरको व्यवस्था गराएका थिए। तर २०२१ मा त्यहाँको एक अदालतले छोप व्यवस्था खारेज गर्दै १० लाख अमेरिकी डलरमा नै सो प्रावधान लागू गरेको थियो।
अहिले सोही व्यवस्थालाई खारेज गर्दै ट्रम्पले गोल्ड कार्डको व्यवस्था गरेका हुन्। यसरी गोल्ड कार्ड लिने व्यक्तिले नागरिकता प्राप्त नगरे पनि ग्रीन कार्ड प्राप्त गरेका व्यक्तिले पाउने सुविधाहरु प्राप्त गर्ने अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन्।