

काठमाडौं । भारतको ओडिसा राज्यस्थित कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा नेपाली छात्राको मृत्यु र त्यसपछिका घटनाप्रति टेक्नोलोजीका उपकुलपतिले माफी मागेका छन् ।
टेक्नोलोजीका उपकुलपति प्राध्यापक सरञ्जित सिंहले विज्ञप्ति जारी गर्दै घटनाप्रति दु:ख व्यक्त गर्दै दोस्रोपटक माफी मागेका हुन् । यसअघि सोमबार पनि विश्वविद्यालयले माफी माग्दै नेपाली विद्यार्थीलाई पढाइमा फर्किन अपिल गरेको थियो ।
मंगलबार विज्ञप्ति जारी गर्दै विश्वविद्यालयले नेपाली विद्यार्थीसहित सम्पूर्ण विद्यार्थीहरूको सुरक्षामा पुन: प्रतिबद्धता जनाएको छ । ‘केआईआईटी सधैं विद्यार्थीहरूको घरजस्तै रहँदै आएको छ । जहाँ समावेशीकरण, सम्मान र माया गर्ने संस्कृति विकसित गरिएको छ’, विश्वविद्यालयका रजिस्ट्रारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामी पछिल्लो घटनाबाट निकै दुःखी छौं र हाम्रा प्रिय नेपाली विद्यार्थीहरूसहित सम्पूर्ण विद्यार्थीहरूको सुरक्षाको प्रतिबद्धता पुनः व्यक्त गर्न चाहन्छौं।’
