

काठमाडौं । भारतको ओडीसा राज्यमा रहेको केआईआईटीमा नेपाली विद्यार्थीको शंकास्पद मृत्यु भएको छ । कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) कलेजको होस्टलमा बसेर बी–टेक तेस्रो वर्षमा अध्ययनरत बुटवलकी प्रकृति लम्साल मृत अवस्थामा भेटिएकी हुन् ।
लम्सालले कलेजमा पढ्ने एक युवकले आफूलाई लामो समयदेखि दुर्व्यवहार गर्दै आएको भन्दै अन्तर्राष्ट्रिय सम्बन्ध अफिसर (आईआरओ) लाई निवेदन समेत दिएको नेपाली विद्यार्थीहरूले जनाएका छन् । तर, प्रशासनले गम्भीरतापूर्वक लिएको थिएन । आइतबार उनी कलेजको होस्टलभित्र मृत अवस्थामा फेला परेपछि विद्यार्थीहरुले कलेजविरुद्ध प्रदर्शन थालेका थिए । कलेजले उनले आत्महत्या गरेको दाबी गर्दै विज्ञप्ति जारी गरेको छ ।
सोही विषयमा नेपाली विद्यार्थीहरूले छानबिनको माग गर्दै प्रदर्शन गरेपछि कलेज प्रशासनले नेपाली विद्यार्थीलाई छात्राबास र कक्षा सञ्चालनमा समेत रोक लगाएको छ । करिब १५ सय जना अध्यययनरत सो इन्स्टिच्युटमा मृतक नेपाली विद्यार्थीमाथि छानबिन गर्नुको साटो नेपाली विद्यार्थीमाथि समेत उल्टै ज्यादती गरिएको हो ।
दूतावासको पत्र
यसैबीच नयाँ दिल्लस्थित नेपाली राजदूतावासले सो विषयमा कलेजलाई पत्र लेख्दै नेपाली विद्यार्थीलाई छात्रावास (होस्टल) र कक्षा सञ्चालनको व्यवस्था मिलाउन कलेज प्रशासन समक्ष आग्रह गरेको छ । दूतावासले सो संस्थाका रजिस्ट्रार लगायतका प्रतिनिधिले नेपाली विद्यार्थीका लागि छात्रावास र कक्षा सञ्चालनको व्यवस्था मिलाउने जानकारी गराएका छन् ।
दूतावासले एक विज्ञप्ति जारी गर्दै विद्यार्थीहरूको सुरक्षा सुनिश्चित गर्दै सोही संस्थाको छात्रावासमा नै बस्ने प्रबन्ध मिलाउन आग्रह गरिएको जानकारी गराएको छ ।