

काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाले नक्कली कर चुक्ताको प्रमाण पत्र देखाएर नवीकरण गरेको आरोप लागेको छ । राष्ट्रिय खेलकुद परिषदमा संघले बुझाएको कर चुक्ता नक्कली रहेको आरोप लागेको हो ।
आन्तरिक राजश्व कार्यालय ललितपुर–२ ले मिति २०८१ माघ २७ गते अखिल नेपाल फुटबल संघलाई पत्र लेख्दै कागजातहरु माग गरेपछि अखिल नेपाल फुटबल संघले कर चुक्ता लिन बाँकी नै रहेको खुलासा भएको हो ।
यस विषयमा राखेपका खेलकुद विकास विभागका प्रमुख सरोज पोखरेलले एन्फाले कर चुक्ताको प्रमाण पत्र पेश गरेको बताए । एन्फाले बुझाएको कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि नक्कली रहेको भन्दै उजुरी परेको छ । एन्फाले पेश गरेको भनिएको करचुक्ता प्रमाण पत्र उपलव्ध गराउन माग गर्दै राखेप समक्ष गोरखा जिल्ला फुटबल संघका सदस्य अमित खत्रीले दर्ता नम्बर ४६०७ मार्फत उपलव्ध गराउन निवदेन दिएका छन् ।
एन्फाले नक्कली कर चुक्ता प्रमाणपत्र बुझाएको प्रमाणित भएको खण्डमा सरकारी कागजात कीर्ते मुद्धामा कानुनी कारबाही गर्नका लागि सम्बन्धित निकायमा उजुरी गर्ने निवेदक अमीत खत्रीले बताए ।
राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को धारा २८ मा संघले पालना गर्नु पर्ने शर्तको (ज) मा अन्तर्राष्ट्रिय संघ, संस्था वा व्यक्तिबाट सहयोग प्राप्त गर्दा परिषदको सिफारिसमा मन्त्रालयमार्फत नेपाल सरकार अर्थ मन्त्रालयको सहमति लिनुपर्ने कानुनी व्यवस्था छ ।
त्यस्तै, धारा (ट) मा कुनै विदेशी संघ संस्थासंग खेलकुदसम्बन्धी विषयमा समझदारी गर्दा मन्त्रालयको सहमति लिनुपर्नेछ । तर एन्फाले कुनै पनि प्रक्रिया नपुर्याई लाखौ डलर अपचलन गर्दै आएको आरोप लाग्ने गरेको छ ।