

न्युयोर्क । राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकालका लागि निर्वाचन जितेसँगै डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसिएन्सी (डोग) को प्रमुख नियुक्त भएका एलन मस्कलाई अमेरिकीहरूको व्यक्तिगत आर्थिक डेटामा पहुँच नदिन त्यहाँको एक अदालतले आदेश दिएको छ।
जिल्ला न्यायाधीश पाउल ए एन्जलमायरले मस्क र उनका टोलीले डेटा कपी गर्ने र नास गर्ने सम्भावना रहेको भन्दै त्यसलाई रोक्न आदेश दिएका हुन । अमेरिकी सरकारी निकायको खर्च कटौती गर्नको लागि भन्दै राष्ट्रपति ट्रम्पले गैरसरकारी तवरबाट स्थापना गरेको यस संस्था डोगलाई समेत व्यक्तिगत आर्थिक डेटामा पहुँच नदिन अदालतले आदेश दिएको छ।
मस्कको सक्रियतामा डोगको सबै रेकर्डमा पहुँच पुगेको भन्दै १९ राज्यका महान्यायाधिवक्ताले अदालतमा मुद्दा दायर गरेपछि यस्तो निर्णय भएको हो । महान्यायाधिवक्ताले मस्क र डोग सरकारी निकाय नभएको तथा त्यस संस्थाले सङ्घीय कानुन उल्लङ्घन गरेको आरोप लगाएका छन्।