

काठमाडौं । आगामी चैत १ देखि ३ गतेसम्म काठमाडौँमा हिमवत्खण्ड कला–साहित्य–संस्कृति सम्मिलन आयोजना हुने भएको छ । हिमवत्खण्डमा उद्भव भएका मानव सभ्यता र सांस्कतिक वैभवका साथै यस भू–खण्डमा बसोबास गर्ने विभिन्न भाषाभाषीका संस्कृति, सभ्यता र ज्ञानपरम्परालाई सुदृढ बनाउने उद्देश्यका साथ सम्मिलन आयोजना गरिएको आयोजक मदन भण्डारी कला साहित्य प्रतिष्ठानका अध्यक्ष डा विजय सुब्बाले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
तीन दिनसम्म चल्ने सम्मिलनमा नेपालका सातै प्रदेश, हिमाल, पहाड र तराईका सांस्कृतिक झाँकीको प्रस्तुत गरिने छ । सम्मिलनमा सातै प्रदेशबाट लोक संस्कृतिसम्बन्धी एक÷एकवटा र नेपाल बाहिरबाट म्यान्मा, बङ्गलादेश, भारत, चीन, भूटान, थाइल्यान्डलगायत देशका तर्फबाट प्रतिनिधिमूलक गोष्ठी पत्र प्रस्तुति, प्राज्ञिक विमर्श र सांस्कृति प्रस्तुत हुने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
सम्मिलनमा सिक्मिका पूर्वमुख्यमन्त्री तथा साहित्यकार पवन चाम्लिङलाई ‘हिमवत्खण्ड कला–साहित्य–संस्कृति सम्मान–२०८१’ प्रदान गर्ने कार्यक्रम रहेको अध्यक्ष सुब्बाले जानकारी दिए। स्कन्द पुरामा वर्णन गरिएअनुसार हिमालयपालित सिन्धु प्रदेशदेखि ब्रह्मपुत्रसम्म फैलिएको मानसरोवर समन्वित भूखण्ड नै हिमवत्खण्ड हो । नेपाललाई हिमवत्खण्डको केन्द्रका रूपमा मानिँदै आइएको छ । हिमवत्खण्ड नेपालमा प्राचीन ग्रन्थ ऋगवेद र प्राचीन भाषा संस्कृतको जन्म भएको तथा सप्तगण्डकीमा काश्यप र पुलस्त्य ऋषि, कोशीमा कौशिक ऋषि (विश्वामित्र), मिथिलामा राजा जनक, यज्ञवल्क्य, गार्गीजस्ता दार्शनिक र वाल्मीकि, व्यास, कालिदासलगायत कविको जन्म भएको पाइन्छ ।