

काठमाडौं । एन्फाका वरिष्ठ उपाध्यक्ष वीर वहादुर खड्काले लागुऔषध खैरो हिरोईन बिक्री वितरण र कारोबार मुद्दामा तत्कालीन पुनरावेदन अदालत(हालको उच्च अदालत) ले दोषी ठहर गरेका एन्फा उपाध्यक्ष दावा लामालाई बर्खास्त गर्न पुनः युवा तथा खेलकुद मन्त्रालयमा निवेदन दर्ता गराएका छन् ।
राष्ट्रिय खेलकुद विकास ऐन २०७७ र एन्फाको विधानअनुसार आवश्यक कारबाही गर्न भनी गत श्रावण ३२ गते युवा तथा खेलकुद मन्त्रालय समक्ष खड्काले निवेदन दर्ता गराएका थिए । सो निवेदन उपर आवश्यक कारबाही गरी मन्त्रालयलाई जानकारी गराउनू भनी भाद्र १६ गते च.नं १४७ मार्फत युवा तथा खेलकुद मन्त्रालयले राखेपलाई पत्र लेखेको थियो ।
राष्ट्रिय खेलकुद परिषद्को कार्यकारी समितिको मिति २०८१ भाद्र २३ गतेको निर्णायानुसार उपाध्यक्ष लामालाई कारबाही गरी सात दिनभित्र परिषद् समक्ष लिखित जानकारी उपलव्ध गराउनू भनी एन्फालाई पत्र काटेको थियो । तर राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ्गको द्वेध चरित्र र संरक्षणका कारण लामा हालसम्म पनि एन्फा उपाध्यक्षको हैसियतले काम काज गर्दै आए आरोप पनि ताकेता पत्रमा समेटिएको छ ।
सदस्य सचिव घिसिङ्गको संरक्षणकै कारण एन्फा अध्यक्ष पंकज नेम्बाङ्गले उपाध्यक्ष लामालाई नहटाएको एन्फा स्रोतले जनाएको छ । तर यस्तै प्रकृतिको मुद्धामा सदस्य सचिवले हरि खडकालाई भने विशेष अदालतले नेपाल प्रहरीमा बढुवा प्रयोजनको लागि पेश गरेको शैक्षिक प्रमाण पत्र नक्कली भएको ठहर गरी पाँच हजार जरिवाना गर्नेबित्तिकै राखेपको बोर्ड सदस्यबाट तत्काल बर्खास्त गर्ने निर्णय गरेका थिए ।