

काठमाडौं । एन्फाका सात सदस्यले कार्यसमिति बैठक बोलाउन माग गरेका छन् । पटकपटक मौखिक आग्रह गर्दा पनि बैठक नबोलाएपछि वरिष्ठ उपाध्यक्ष वीर बहादुर खड्कासहित सात जनाले कार्यसमिति बैठक बोलाउन माग गरेका हुन् ।
यसरी बैठक माग गर्नेमा उपाध्यक्षद्वय दीर्घबहादुर केसी(कुमार),विराट जंग शाही, केन्द्रीय सदस्यहरु रविन्द्र चन्द, रुपेश अधिकारी, पेमा डोल्मा लामा र रमेश व्यन्जनकार रहेका छन् ।
पत्रमा एन्फाको विधानको धारा ३९ को व्यवस्थाअनुसार बैठक बोलाउन माग गरिएको छ । विधानको धारा ३९ को २ मा कार्यसमितिका एकतिहाइ सदस्यले बैठक माग गरेमा अध्यक्षले २१ दिनभित्र बैठक बोलाउनुपर्ने बताइएको छ ।
यदि अध्यक्षले २१ दिनभित्र बैठक नबोलाए कार्यसमितिका अन्य सदस्यहरूले बैठक बोलाउन सक्ने व्यवस्था छ । विभिन्न आठ एजेन्डामा छलफल गर्नुपर्ने उनीहरूको माग छ ।